सुनसरी । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको कोकाहा खानेपानी श्रम अभियानको लागि हङकङमा रहेका नेपालीहरूले सङ्कलन गरेको नगद ११ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
हङकङ निवासी श्रीप्रसाद इवाहाङले त्यहाँ रहेको संस्थाहरू बुढीमोरङ फाक्सिप परिवार, इङनाम इवाहाङ विकास समिति र चौबिसे समाज हङकङमा आबद्ध सदस्यहरूबाट सङ्कलन गरिएको उक्त रकम कोकाहा खानेपानी श्रम अभियानको लागि हस्तान्तरण गरिएको हो ।
IMG_0669
साम्पाङले सञ्चालन गरेको अर्को अभियान वृक्षारोपण जनश्रमदान भइरहेको स्थानमै गएर दाताहरूले उक्त सहयोग रकम हस्तान्तरण गर्दै वृक्षारोपण समेत गरेका थिए ।
गत फागुन तेस्रो सातादेखि जारी कोकाहा खानेपानी श्रम अभियानमा ३ करोड ५० लाख बढी नगद सहयोग प्राप्त भैसकेको छ भने १ करोड २० लाख बढीको पाइप सहयोग भएको थियो ।
IMG_0663
खानेपानीको चरम अभाव भोगिरहेको धरानमा नगरप्रमुख साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल भएका छन् ।
उक्त पानीलाई धरान बजारसम्म ल्याएर वितरण गर्न थप रकम आवश्यक परेकाले उक्त सहयोग रकम हस्तान्तरण गरिएको रकम सङ्कलनकर्ता श्रीप्रसाद इवाहाङले बताए ।