सुनसरी । अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै यसको पक्ष विपक्षमा आरोप प्रत्यारोप सुरु भएको छ ।
कोसी प्रदेश फुटबल संघका पदाधिकारीहरूले भने काम गर्ने बेलामा अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर नेपाली फुटबललाई अझै अन्धकार तर्फ धकेल्न खोजिएको आरोप लगाएका छन् ।
एन्फा कोसी प्रदेशले धरानमा मङ्गलवार सुरु गरेको फिफा कनेक्ट वर्कसपमा भेला भएका फुटबलकर्मीहरूले विद्रोही पक्षलाई वार्ता र संवाद मार्फत समाधान गर्न आग्रह गरेका छन् । एन्फामा होहल्ला, तालाबन्दी गरेर राम्रो सन्देश नजाने भन्दै उनीहरूले नेपाली फुटबलको विकास गर्नुपर्ने बेलामा विभाजित हुन नहुने बताए ।
एन्फा पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरको पालामा भएको बेरुजु तिर्दातिर्दै पहिलो वर्ष सकिएको र बाँकी ३ वर्षमा धेरै कार्यक्रम गर्न सकिने भन्दै पूर्वाग्रही ढङ्गले अविश्वासको प्रस्ताव दर्ता गराइएको एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले आरोप लगाए ।
गणेश थापाको नेतृत्वले निर्माण गरेको नेपाली फुटबलको साख र काम भन्दा एन्फा अघि नबढेको हो कि ? भन्ने राईले आशय व्यक्त गरे । उनले जिल्ला फुटबल सङ्घहरू गठन गर्दै फुटबलको विकासमा अघि बढेको बताए । आमूल परिवर्तनको अपेक्षा लिई, भिजन र मिसन लिएर प्रक्रियाअनुसार निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्वलाई यसअघि साथ दिएको राईले बताए ।
एन्फाका सहायक महासचिव वसन्त अर्यालले बहुमत सदस्यहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्त माग गर्दै प्रस्ताव दर्ता गराएपछि जिल्ला जिल्लामा फुटबलको व्यावसायिकता प्रति अविश्वास उत्पन्न भएको बताए ।
एन्फाले कोसी प्रदेशबाट सुरु गरेको फिफा कनेक्ट वर्कसपमा कोसी प्रदेश फुटबल सङ्घमा आबद्ध ११ जिल्लाका प्रतिनिधिहरू सहभागी भए ।
उनीहरूलाई फिफाले अनिवार्य गरेको क्लब, खेलाडी दर्ता लगायतको प्राविधिक पक्षका विषयहरू सिकाइएको छ ।
वर्कसपको एन्फाका फिफा फरवार्ड मेनेजर गोकुल थापाले आधुनिक फुटबललाई फिफासँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको बताइएको छ ।