सुनसरी । धरान उपमहानगरपालिका १५ मा मङ्गलवार साँझ दुई पक्षबिच भएको झडपमा संलग्न ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरका अपप्रमुख अइन्द्रबिक्रम बेघाको घरमा घरमा भएको भनिएको घटनामा प्रहरीले ८ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । घटनामा संलग्न उपमेयर बेघाका कान्छा भाइ विष्णु बेघा सहित ८ जनालाई  अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार बेघा पक्षका ३ जना र अर्को समूहका ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । घटनामा गम्भीर घाइते भएका सन्देश राईले नै बेघाको नाम लिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । पक्राउ पर्नेहरूमा बेघा सहित धरान १५ सूर्य बस्तीका अमृत तामाङ, अनिल मगर, सन्दीप राई, बाघ बिरे भन्ने सुरज तामाङ, मेनल तामाङ, राज कुमार लिम्बू र दीपेन्द्र राई (सागर) रहेका छन् ।
सुरुमा विष्णु बेघाको समूहले आक्रमण गरेको र त्यसपछि अर्को समूहले लखेट्दै गएर उपमेयर बेघाको घरसम्म ढुंगामुढा गर्न पुगेको भन्ने घाइते सन्देश पक्षको दाबी छ भने बेघा पक्षबाट पनि पहिला सन्देश पक्षका युवाहरू हतियारसहित घरमा ढुंगामुढा गर्न गर्न आएको दाबी छ । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाउँदै धरान उपमहानगरका प्रमुख र उपप्रमुखले घटनालाई राजनितिकरुप दिएर अतिरञ्जित गर्न खोजेको जनाएको छ ।
उपमेयर बेघाले आफ्नो घरमा आक्रमण भएको र समयमै प्रहरीलाई खबर गरे पनि ढिला गरी आएको भन्दै धरानका डिएसपीलाई फोन गर्दै फेसबुक लाइभ गरेपछि घटनाले चर्चा पाएको थियो ।
घटनामा उपमेयर बेघाको भाइ विष्णुको अनुहार र टाउकोमा सामान्य चोट छ ।
अर्को समूहका सन्देशको अवस्था भने गम्भीर रहेको छ ।
उनीहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।