इटहरी । इटहरीमा पहिलो पटक आयोजना गरिएको सङ्गिनी, सिलोक र विरहन गायन प्रतियोगिताका उत्कृष्टहरूलाई पुरस्कार वितरण गरिएको छ ।
६० वर्ष माथिका ज्येष्ठ नागरिकहरूको प्रतिभा उजागर गर्न आयोजित प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो ।
शनिवार एक कार्यक्रमको आयोजना गरी १४ वटा संस्थाका प्रतियोगी अन्तर्गतका सँगिनी र सिलोकका उत्कृष्ट तथा १० प्रतियोगी मध्ये उत्कृष्टलाई पुरस्कार वितरण गरिएको हो ।
महिलाहरूले गाउने सँगिनी तर्फ वडा न. २० प्रथम भएको छ । यस्तै इटहरी ५ द्वितीय, इटहरी १६ तृतीय, इटहरी १९ र इटहरी ३ सान्त्वना भएको छ ।
यस्तै,पुरुषले गाउने सिलोकतर्फ इटहरी ५ का जीतबहादुर तामाङ प्रथम भए । इटहरी ७ का विष्णुबहादुर कोइराला द्वितीय, इटहरी ५ का नन्दमणि बस्नेत तृतीय र इटहरी १६ का मोहनप्रसाद आचार्य सान्त्वना भए ।
त्यस्तै, चौधरी भाषाको विरहनतर्फ भने इटहरी १२ प्रथम भएको छ । इटहरी १६ द्वितीय, इटहरी १४ तृतीय, इटहरी १५ सान्त्वना भएको छ ।

प्रतियोगिताका तीन वटै विधाका प्रथम, द्धितिय,तृतीय र सान्त्वना लाई क्रमशः पाँच हजार,तीन हजार, दुई हजार र एक हजार पाँच सय पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक कृष्ण विनोद लम्सालले जानकारी दिए ।
लोप हुने अवस्थामा पुगेका पुराना संस्कृतिहरूलाई जोगाउन तथा नयाँ पुस्तामा पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक लम्सालले जानकारी दिए ।

