सुनसरी । अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले एन्फामा पछिल्लो समय अस्वस्थ राजनीति देखिएको भन्दै समस्या समाधानका लागि अहिलेको कार्यसमिति सक्षम रहेको दाबी गरेका छन् ।
धरानमा बुधवारदेखि सुरु भएको रेफ्री कोर्षको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले अहिले एन्फामा अस्वस्थ्य राजनीति सुरु भएको बताए । एन्फा अध्यक्ष र महासचिवको बर्खास्तीको माग गर्दै ४९ पदाधिकारीले प्रस्ताव दर्ता गराएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका नेम्वाङले कमीकमजोरी सुधार्दै अघि बढेको अवस्थामा अस्वस्थ्य प्रतिस्पर्धा गरेर नेपाली फुटबलको भविष्य बिगार्न नहुने बताए ।
नेपाली फुटबलमा अहिले देखिएको असमझदारी चाडै अन्त्य हुने पनि उनले बताए । अध्यक्ष र महासचिव विरुद्ध बहुमत पदाधिकारीले दर्ता गराएको प्रस्तावले गलत नजिर बसेको भन्दै उक्त प्रस्ताव  अनुशासन कमिटीमा पठाइएकोले यसैको आधारमा थप कारबाही अघि बढ्ने प्रस्ट पारे । एन्फामा पारदर्शी किसिमले काम गरिरहेको दाबी गर्दै अध्यक्ष नेम्वाङले नेपाली फुटबललाई कहिले पनि अन्याय नगर्ने आश्वास्त पारे ।
काम गर्ने बेलामा अध्यक्ष विरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गरेको तर्फ लक्षित गर्दै उनले फुटबलको विकास हेर्न नचाहने समूहले नेपाली फुटबललाई अझै अन्धकार तर्फ धकेल्न खोजिएको आरोप लगाए । उत्पन्न विवादलाई वार्ता र संवाद मार्फत समाधान गर्न तयार रहेको बताएका उनले नेपाली फुटबलको विकास गर्नुपर्ने बेलामा विभाजित हुन नहुने बताए ।
अघिल्लो कार्यसमितिको पालामा भएको बेरुजु तिर्दातिर्दै पहिलो वर्ष सकिएको र बाँकी ३ वर्षमा धेरै कार्यक्रम गर्न सकिने नेम्वाङको भनाई थियो ।
कार्यक्रममा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईले विद्रोही पक्षलाई वार्ता र संवाद मार्फत समाधान गर्न आग्रह गरे ।
उपाध्यक्ष दीपककुमार खतिवडा लगायतले राम्रो गर्न खोज्दा खोज्दै पनि फुटबल बिथोल्न केही समूह लागि परेको आरोप लगाए । एन्फा कोसी प्रदेशको आयोजना सुरु चौथो श्रेणीको रेफ्री कोर्ष एक साता सम्म चल्ने छ ।
रेफ्री कोर्समा एन्फामा आबद्ध कोसी प्रदेशका ११ जिल्लाका ५१ जना प्रशिक्षार्थी सहभागी रहेको कोसी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए ।
उनीहरूलाई एन्फा स्ट्रक्टर श्रीराम रन्जितकार, डा शैलेश जोशी, रोजन श्रेष्ठ र मधुसूदन खनालले सहजीकरण गर्ने छन् ।