विराटनगर । नेकपा एमालेका कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले  होटल तथा प्रदेश सभाहरूमा हुने दलहरूको गोप्य बैठकको समाचारमा पत्रकारहरू चुकेको बताए ।
 भर्खरै पनि प्रदेश सभा सचिवालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्षमा असोज १ गते बसेको बैठकका बारेमा पत्रकारले थाहा समेत नपाएको उनले बताए । 
कतिपय होटलहरुमा बस्ने त्यस्ता गोप्य बैठकको बारेमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूले कतिपय अवस्थामा थाहा नै नपाएको भण्डारीले सुनाए । 
कोसी प्रदेश संसदीय पत्रकार मञ्चका पत्रकारसँग अन्तर संवाद गर्दै प्रमुख सचेतक भण्डारीले आफ्नो अनुभव यसरी सुनाएका हुन । 
कोसी प्रदेशमा माननीयसँग संसदीय पत्रकार अन्तर संवाद सुरु भएको छ । संसदीय पत्रकार मञ्च कोसी प्रदेशको आयोजनामा बिहीबारदेखि अन्तर संवाद सुरु भएको हो ।
 हरेक १५ दिनमा अन्तर संवाद गर्नेगरि कार्यक्रम सुरु भएको संसदीय पत्रकार मञ्च कोसी प्रदेशका अध्यक्ष कुमार लुइँटेलले जानकारी दिए ।
 शृङ्खलाको पहिलो कार्यक्रममा नेकपा एमाले कोसी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले आफ्नो अनुभव सुनाए । यो कार्यक्रममा माननीयहरूले आफ्नो राजनीति अनुभव, संसद्मा खेलेका भूमिका तथा सुख दुःखका कुराहरू पत्रकारलाई सुनाउनेछन् ।
 प्रमुख सचेतक भण्डारीले संविधान सभाको सदस्यको रूपमा त्यहाँ पुग्दाको भूमिका, त्यहाँ कानुन बनाउँदाको अनुभव सुनाए । 
‘मलाई कानुन बनाउने प्रक्रियाको बारेमा संविधान सभामा निर्वाचित भएर जाँदा सम्म केही थाहा थिएन’, उनले भने, ‘केही नजानेको मलाई त्यहाँ भित्र प्रवेश गरेपछि मात्र बल्ल धेरै कुरा बुझ्ने मौका पाएँ ।’ 
संविधानसभामा बसेर काम गरेको अनुभवको आधारमा कोसी प्रदेश सरकार स्थापना भएसँगै कोसी प्रदेशमा कानुन मस्यौदा समितिमा रहेर काम गर्ने अवसर पाएर धेरै कानुनको मस्यौदा ड्राफ्ट गर्न पाएको उनको अनुभव छ । 
अहिले प्रदेश सभामा निर्वाचित भएर आएपछि प्रमुख सचेतकको जिम्मेवारी पाएकोले आफ्नो महत्त्वपूर्ण भूमिका रहेको उनले सुनाए । 
कार्य व्यवस्था परामर्श समितिको बैठकको बारेमा छलफल हुने कुराले अर्थ राख्ने उनको भनाई छ । त्यहाँ भित्र प्रदेश सभामा के गर्ने भन्ने बारेमा छलफल हुने र निष्कर्ष निकाल्ने अवस्था आउने बताए ।   
हामी ठुला दलहरू बसेर गरेका विषयहरूमा समेत पत्रकारहरूले थाहै नपाउने गरेको सुनाए । अब आउने प्रदेश सभाको बैठकमा अल्फाबेटिक आधारमा बोल्ने क्रम रोक्ने प्रस्तावमा लग्ने बताए ।  पहिलो आउनेलाई पहिलो प्राथमिकता दिएर प्रदेश सभामा बोल्ने व्यवस्था मिलाउनु पर्ने बताए ।  
होटल, प्रदेश सभाहरूमा हुने दलहरूको गोप्य बैठकको समाचारमा पत्रकारहरू चुकेको भण्डारीले बताए । प्रदेश सभा सचिवालयमा रहेको मुख्यमन्त्रीको कार्यकक्षमा असोज १ गते बसेको बैठक पत्रकारले थाहा समेत नपाएको बताए ।
 उनले होटलमा बस्ने त्यस्ता गोप्य बैठकको बारेमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूले कतिपय अवस्थामा थाहा नै नपाएको सुनाए ।
  ‘संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूले यस्ता ठाउँहरूमा निगरानी गर्नु पर्छ, भण्डारीले भने, तपाइहरूले थाहा पाउनु भएको भए असोज १ गतेको बैठक तपाईँहरूको लागि ठुलो समाचार बन्थ्यो ।’  
उनले कार्य व्यवस्था तथा परामर्श समितिको बैठक र त्यहाँ भित्र हुने छलफल तथा निर्णयहरू निक्कै महत्त्वपूर्ण हुने उनको कथन छ । 
उनले आगामी असोज २० गते भित्रमा अहिलेको मुख्यमन्त्रीले विश्वासको मत लिने बताए ।  बजेट शून्यता हुन नदिनको लागि चाँडै नै प्रदेश सभामा बजेट अध्यादेश पेस हुने र त्यसको विस्थापन ऐन पनि पारित गरेर जाने तयारी रहेको समेत उनले स्पष्ट पारे ।