सुनसरी । सुनसरीमा राष्ट्रिय परिचय पत्र लिन सेवाग्राही नै नजाने गरेको पाइएको छ । 
सेवाग्राही नागरिक राष्ट्रिय परिचय पत्र लिन नगएका कारण जिल्ला प्रशासन कार्यालयमै थन्किएका छन् । सेवाग्राही नै नगएपछि प्रशासनले परिचय पत्र वितरण गर्न सकेको छैन । 
प्रशासनले सिस्टममा अपडेट गरेर सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस पठाए पनि सम्बन्धित व्यक्तिहरू राष्ट्रिय परिचय पत्र लिन गएका छैनन् । 
साउन र भदौ दुई महिनामा जम्मा ७४ वटा राष्ट्रिय परिचय पत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
  साउन २२ गतेबाट सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले वितरण सुरु गरेकी थिइन । हाल सम्म साउन महिनामा २ जना र भदौ महिनामा ७२ जना गरी जम्मा ७४ जनाले मात्रै राष्ट्रिय परिचय पत्र लिएका छन् । 
पटक पटक सूचना जारी गर्दा पनि नागरिकहरू राष्ट्रिय परिचय पत्र लिन नआएका कारण वितरण गर्न नसकिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन । 
प्रजिअ पाण्डेले भनिन्,‘ परिचय पत्र छपाई गरेर आएको छ तर सेवाग्राही नागरिकहरूले चासो नदिएको, पटक पटक सूचना जारी गर्दा पनि लिन नआएका कारण वितरण गर्न समस्या भइरहेको छ,हामीले पहल गरिरहेका छौँ तर लिनै नआउँदा समस्या भएको छ ।’
सुनसरीमा पहिलो लटमा ५० हजार राष्ट्रिय परिचय पत्र आएको थियो । त्यस पछि क्रमैसँग छपाई गरी आउने प्रशासनले जनाएको छ । सिस्टममा अपडेट भएपछि सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज जाने गर्छ । 
राष्ट्रिय परिचय पत्रलाई सरकारले नागरिकता सरह सरकारी काममा प्रयोग गर्ने बताएको थियो । तर हाल सम्म पनि सरकारी संयन्त्रहरूले राष्ट्रिय परिचय पत्रलाई नै कुनै प्राथमिकता नदिए कारण पनि सर्वसाधारण जनतामा सो प्रति कुनै चासो  देखिएको छैन ।