इटहरी । इटहरीकै पुरानो दुग्ध उत्पादक सहकारी संस्थाले ४६ औँ साधारण सभा सम्पन्न गरेको छ ।साधारण सभाको अवसरमा नियमित रूपमा दूध ल्याउने, उत्कृष्ट कारोबार गर्ने साथै नियमित रूपमा दूध खरिद गर्ने उपभोक्तालाई सम्मान गरेको छ ।
दुग्ध उत्पादक सहकारी संस्थाले नियमित रूपमा ३६५ दिनमा ३६२ दिन दूध ल्याउने ८ जना शेयर सदस्यहरूलाई पुरस्कृत गरेको छ । यस्तै दिनगन्तिका आधारमा दोस्रो,तेस्रो हुने ११ जना शेयर सदस्यहरूलाई पुरस्कृत गरेको हो ।
वार्षिक रूपमा सबैभन्दा बढी २७ लाख ५३ हजार४सय ९४ रुपैयाँको कारोबार गर्ने शेयर सदस्य संगिता पौडेललाई पुरस्कृत गरेको छ । यसै गरी कारोबार रकमको आधारमा अन्य ९ जना शेयर सदस्यहरूलाई पनि सम्मान गरेको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले जानकारी दिए ।
नियमित रूपमा सङ्कलन गरेको दूध बिक्री गर्दै आएको सहकारी संस्थाले सबैभन्दा बढी दूध खरिद गर्ने उपभोक्तालाई पनि सम्मान गरेको छ । वर्षभरिमा ६लाख १६ हजार रुपैयाँको ५ हजार ६सय लिटर दूध खरिद गर्ने उपभोक्ता रेखा साहलाई सम्मान गरेको छ । उनीसँगै अन्य बढी दूध खरिद गर्ने विनोद निरौला, शिव तिम्सिना, हेमसागर रायमाझी, अर्जुन तामाङ,लीला चौधरी, अर्जुन थापालाई पनि सम्मान गरेको छ ।

पुरस्कृत तथा सम्मानितहरूलाई विभिन्न इलेक्ट्रिक चुलो,भाँडाकुँडा, कुकर, झर्के थाल, ट्यामी लगायत दैनिक रूपमा प्रयोगमा आउने सामाग्रीहरू वितरण गरिएको थियो ।
साधारण सभामा बोल्दै कोसी प्रदेश उद्योग,कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले सहकारी संस्थाहरूले साधारण सभामा गर्ने तामझाम र फजुल खर्च बन्द गर्नुपर्ने बताए ।
पछिल्लो समय सहकारी संस्थाहरू डुबिरहेको अवस्थामा सहकारीहरूले आफूले गर्ने खर्च कटौती गर्नुपर्ने डा.दाहालले बताए । सहकारीहरूले उत्पादनमा जोड दिनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश भट्टराईले इटहरीमा शुद्ध दूध विक्री गर्ने संस्थाको रूपमा ख्याति कमाएको भन्दै संस्थालाई धन्यावाद दिए ।
सहकारी संस्थाले कृषकहरूबाट दूध सङ्कलन गर्दै विक्री गर्दै आएको छ । कृषकहरूलाई आवश्यक पर्ने दाना,चोकर सहित पुसको स्वास्थ्य उपचारको क्षेत्रमा पनि आवश्यक सहयोग गर्दै आएको संस्थाका अध्यक्ष खेमनाथ काफ्लेले जानकारी दिए । कृषकहरूलाई आवश्यक परेको समयमा ऋण उपलब्ध गराउँदै सहयोग पनि गर्दै आएको छ ।
