सुनसरी । कोसी प्रदेशमा २१ जना एन्फा रेफ्री उत्पादन भएका छन् ।
कोसी प्रदेश फुटबल संघले धरानमा सम्पन्न गरेको एक हप्ते एन्फा रेफ्री कोर्षमा सहभागी ५१ जना मध्ये २१ जनाले उत्तीर्ण गरेसँगै प्रदेशमा २१ जना एन्फा रेफ्रि उत्पादन भएका हुन् ।
रेफ्री कोर्षमा ५८ प्रतिशत भन्दा बढी प्रशिक्षार्थी अनुत्तीर्ण भएका छन् । एन्फा कोसी प्रदेशले गत असोज ३ गते देखी आयोजना गरेको एन्फा क्याटोगरी ४ रेफ्रि कोर्षमा सहभागी ५१ जना प्रशिक्षार्थीमध्ये २१ जनाले मात्र उत्तीर्ण गर्न सकेका हुन ।
एन्फाको आधारभूत रेफ्री कोर्ष उत्तीर्ण उनीहरूलाई मङ्गलवार कोसी प्रदेश फुटबल संघले प्रमाणपत्र र एन्फा ब्याज वितरण गरेको छ । उत्तीर्ण उनीहरूले स्थानीय स्तरको टुर्नामेन्ट र आगामी महिनाबाट सुरु हुने जिल्ला लिग फुटबल खेलाउने कोसी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।
आधाभन्दा बढी प्रशिक्षार्थी अनुत्तीर्ण हुनुमा उनीहरूले आफ्नो शारीरिक तन्दुरुस्ती कायम राख्न नसक्नु नै मुख्य कारण रहेको प्रशिक्षक एवंम कोसी प्रदेश फुटबल रेफ्री संघका अध्यक्ष मधुसूदन खनालले बताए ।
एक साता सम्म चलेको क्याटोगरी ४ रेफ्री कोर्षमा एन्फामा आबद्ध कोसी प्रदेशका ११ जिल्लाका ५१ जना प्रशिक्षार्थी सहभागी थिए । उनीहरूलाई एन्फा स्ट्रक्टर श्रीराम रन्जितकार, डा. शैलेश जोशी, रोजन श्रेष्ठ र मधुसूदन खनालले सहजीकरण गरेका थिए ।
राष्ट्रिय स्तरको दक्ष रेफ्रीहरु उत्पादन गर्ने लक्ष्य सहित एन्फाले सात दिने कोर्ष आयोजना गरेको कोसी प्रदेश फुटबल संघका अध्यक्ष राईले बताए ।