सुनसरी - राष्ट्रिय स्तरको दक्ष रेफ्रीहरु उत्पादन गर्ने लक्ष्य सहित धरानस्थित एन्फा एकेडेमीमा एन्फा रेफ्री कोर्ष सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा कोसी प्रदेश फुटबल संघले शुक्रवारबाट रेफ्रीको आधारभूत कोर्षको आयोजना गरेको हो ।
यसअघि तीन दिनअघि पहिलो चरणमा ५१ जनाको लागि रेफ्री कोर्ष सम्पन्न गरेको एन्फा कोसी प्रदेशले शुक्रवारदेखि ५७ जनाको लागि कोर्ष सुरु गरेको हो ।
एक सातासम्म सञ्चालन हुने कोर्षमा एन्फामा आबद्ध कोसी र बागमती प्रदेशका १२ जिल्लाबाट छानिएर आएका कुल ५७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ ।
प्रशिक्षण दौरान प्रशिक्षार्थीलाई फिफाको लज अफ दि गेमको ज्ञान दिइने छ । यस्तै फिटनेस सम्बन्धी प्रशिक्षण पनि गराइने छ । उक्त दुवै परीक्षामा उत्तिणर् हुनेलाई एन्फा रेफ्री ब्याच प्रदान गरिने कोसी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।
उनीहरूलाई एन्फा स्ट्रक्टर श्रीराम रन्जितकार, शैलेश जोशी, रोजन श्रेष्ठ र मधुसूदन खनालले सहजीकरण गर्नेछन ।
उक्त कोर्षको उद्घाटन धनकुटाको सांगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गरेका थिए ।
कार्यक्रममा कोसी फुटबल संघका अध्यक्ष मणिकुमार चेम्जोङ, शिव न्यौपाने, कविराज तुम्बापो, महासचिव भगीरथ आलेमगर, सहमहासचिव केशव कार्की लगायतका पदाधिकारीहरूले रेफ्री कोर्ष पुरा गरी ब्यवशायिक रेफ्रीको रूपमा स्थापित हुने गरी काम गर्न आग्रह गरे ।