विराटनगर । चाडपर्वलाई लक्षित गरेर भारतसँग सीमा जोडिएका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । कोसी प्रदेशका सीमा क्षेत्रमा सुरक्षा सक्रियता बढाइएको हो ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङ, सुनसरी, झापालगायतका विभिन्न स्थानमा चाडपर्वलाई लक्षित गरेर सुरक्षा तैनाथ बढाइएको हो । सीमा क्षेत्रलाई लक्षित गरेर अहिले नेपाल र सशस्त्र प्रहरीले संयुक्त रूपमा कारबाही सुरु गरेका छन् । दुवै निकायले संयुक्त गस्तीसमेत गरिरहेका छन् । दुई देशीय सिमानामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । सबै ठाउँमा निगरानी बढाइएको छ ।
दसैँ, तिहार, छठलगायतका चाडपर्वमा हुनसक्ने चोरी निकासी र आपराधिक घटना नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय भइरहेको सुरक्षा बताएको छ ।
कोशी प्रदेशका नेपाल प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी प्रमुख डिआइजी अन्जनीकुमार पोखरेललगायतका सुरक्षा अधिकारीले सीमा क्षेत्रमै पुगेर त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई चोरी निकासी एवं सीमा अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्न संयुक्त निर्देशन दिन थालेका छन् ।
भारतसँगको खुला सीमाका कारण चोरी तस्करी एवं दुई नम्बरी धन्दा नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सुरक्षा विश्लेषण छ । भारतबाट नेपाल र नेपालबाट भारततिर भइरहेका तस्करी नियन्त्रणलाई शून्यमा झार्न मिहिनेत गरिरहेको दाबी सुरक्षाकर्मीको छ ।