सुनसरी । नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो ।

सभापति देउवाले गठबन्धनमा भएको सहमतिबमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमतिबमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए । 

प्रदेशसभाको पहिलो दलको हिसावले मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि शनिबार पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आव्हान गरेका छन् । त्यसकालागि आगामी शुक्रबार साँझसम्मको समय दिइएको छ ।

कांग्रेसले शुक्रबारसम्म सकेसम्म आफ्नै नेतृत्वमा, नभए गठबन्धनका दलहरूको धारणाबमोजिम समेत भएपनि गठबन्धनकै नेतृत्वमा सरकार गठनको बातावरण बनाउन पहल लिने निर्णय गरेको हो ।

कोशी प्रदेशसभा हाल ९३ सदस्यीय छ । त्यसमध्ये बहुमतकालागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तत्काल सरकार गठनकालागि आवश्यक पर्ने यो संख्या गठबन्धनसँग पहिल्यै छ । जसमा कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक सांसद छन् ।