सुनसरी । सरकारले ल्याउन लागेको सङ्घीय निजामती ऐनमा आफूहरुलाई विभेद गरेको भन्दै सुनसरीमा पनि स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन् ।
जिल्लाका १२ वटै स्थानीय तहमा कार्यरत कर्मचारीले पेनडाउन गरेका छन् । उनीहरुले अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू बन्दगरी अनिश्चितकालिन पेनडाउन गरिएको स्थानीय तह संघर्ष समिति इनरुवा नगरपालिकाका संयोजक अशोक मेहेताले बताए ।
संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।
स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनु पर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् ।
त्यस्तै, कर्मचारी कल्याण कोषको व्यवस्था हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिनुपर्ने, अन्तरप्रदेश सरुवा लागू गर्नुपर्ने लगायतका कर्मचारीको माग छ ।