सुनसरी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले गत आर्थिक वर्षमा ६९. १३ प्रतिशत प्रगति हासिल गरेको छ । आयोगको कार्यालयले बुधवार कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएको प्रतिवेदन आ.व. ०७९/८० मा प्रारम्भिक छानबिन तर्फ जम्मा २४०७ उजुरी रहेकोमा सो मध्ये १६६४ फर्छ्यौट हुँदा ६९.१३ प्रतिशत प्रगति हासिल भएको जनाएको हो । जसमध्ये १५५ वटा उजुरीहरूमा विस्तृत अनुसन्धान अधिकृत तोकिएको, ८७३ वटा उजुरी तामेलीमा राखिएको, १४ वटा उजुरी उपर सुझाव दिइएको र ६२२ वटा उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारवाहीको लागि विभिन्न निकायमा लेखी पठाइएको जनाइएको छ । गत आ.व.मा फर्छ्यौट हुन बाँकी रहेका ७४३ उजुरीहरू चालु आ.व. ०८०/८१ मा जिम्मेवारी सरेर आएको उल्लेख छ ।
अख्तियारले आ.व. ०७९/८० मा दर्ता भएका उजुरीहरू मध्ये सबै भन्दा बढी सङ्घीय मामिला (स्थानीय तह) अन्तर्गतका उजुरीहरू रहेको समेत जनाएको छ । आयोगको कार्यालय इटहरीमा गत आ.व. ०७९/८० मा सबैभन्दा बढी सप्तरी जिल्लाका ६ सय उजुरी परेका थिए । त्यसपछि सुनसरीमा ५०२, मोरङमा ३८०, झापामा २१५, उदयपुरमा १५७ उजुरी रहेका थिए । सबैभन्दा कम तेह्रथुममा ४३ वटा मात्र उजुरी परेको जनाएको छ ।
आ.व. ०७९/८० मा आयोगको कार्यालय, इटहरीबाट भोजपुर जिल्लामा जिल्ला स्तरीय अन्तकृया कार्यक्रम, ७ वटा जिल्लाका १२ स्थानीय तहमा अन्तकृया कार्यक्रम र ८ वटा जिल्लाका १२ वटा सामुदायिक विद्यालयमा सामुदायिक शिक्षा कार्यक्रम सञ्चालन भएको र जसमा २२८१ जनाको सहभागिता रहेको प्रतिवेदनमा उल्लेख छ । आयोगको कार्यालय, इटहरीको कार्यक्षेत्र भित्र पर्ने ३ जिल्लामा (सुनसरी, मोरङ र इलाम) नागरिक निगरानी संस्था गठन भई सञ्चालनमा रहेको जनाइएको छ ।
आयोगले गत आ.व. ०७९/८० मा झापा, मोरङ र सप्तरीका ५ वटा कार्यालयहरूमा सेवाग्राहीबाट कर्मचारीहरूले घुस/रिसवत लिइरहेको अवस्थामा पक्राउ गरी नियन्त्रणमा लिई अदालतमा आरोप पत्र दायर गरिएको प्रतिवेदन मार्फत जानकारी गराएको छ ।