विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी पेस गरेपछि प्रदेश प्रमुखले परशुराम खापुंगले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् । उनले संविधानको धारा १६८(५) अन्तरगत सरकार गठनका लागि दिएको समय सीमा भोली सम्म  रहेको छ । दुई जनाको दाबी परेपछि आवश्यक परामर्शका लागि समय लाग्ने भन्दै मुख्यमन्त्री नियुक्त नगरेका हुन् । संविधानको धारा १६८(५) अन्तरगत रहेर सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता नेता इन्द्रबहादुर आंवोले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाएका छन् । उनलाई आजै सत्ता गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्रीको रूपमा अगाडि सार्ने निर्णय गरेका थिए । 
तर काँग्रेसका शीर्ष नेताहरूको निर्णय विरुद्ध असन्तुष्टि जनाउँदै काँग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले आफू सहित काँग्रेसका ९ सहित प्रदेश सभा सदस्य र एमालेका ३९ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनी सहित काँग्रेसका ८ प्रदेश सभा सदस्यले प्रदेश प्रमुख परशुराम खापुंग समक्ष उभिएर केदार कार्की बाहेक अरू कसैलाई मुख्यमन्त्री नियुक्त गर्न हस्ताक्षर नगरेको भन्दै पत्र बुझाएका छन् । पत्र बुझाउँदा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता हिमाल कार्की उपस्थित नभए पनि पत्रमा हस्ताक्षर गरेका छन् । श शरीर उपस्थित भएका प्रदेश सभा सदस्हरुले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा अरू कसैले मुख्यमन्त्री बनाउन भनेर बुझाएको पत्रमा आफ्नो हस्ताक्षर भए त्यो झूटो भएको बताएका छन् ।