विराटनगर / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा गरिने राजनीतिक चलखेल स्वीकार गर्न नसकिने बताएका छन् । नेपाली सेनामा गरिने राजनितिले दुर्घटना निम्त्याउने भन्दै कोइरालाले त्यस्तो कार्य गर्न नहुने बताएका छन् ।
आज(आईतबार) सामाजिक सञ्जाल एक्स(ट्वीटर)मा उनले माओवादीका पूर्व लडाकुका निम्ति नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने लेखेका छन् ।
नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्था भएको पनि कोइरालाले उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्स(ट्वीटर)मा लेखेका छन्, “नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,” उनले लेखेका छन्, “सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।”
सेनाबाट अवकाशको मुखमा पुगेका यमबहादुर अधिकारीलाई सरकारले ३१ भदौदेखि लागु हुनेगरी तीन वर्ष कार्यकाल थप गरेको थियो । उनको कार्यकाल थप गरेकोप्रति जंगी अड्डा सरकारप्रति असन्तुष्ट छ । जंगी अड्डाले सहायक रथी अधिकारीलाई जगेडाका रूपमा राखेको छ ।