सुनसरी । बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा आराधना गरिँदै छ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ रूपको पूजा गर्ने परम्पराअनुसार आज दोस्रो दिन ब्रह्मचारिणी भगवतीको पूजा हुन लागेको हो ।

ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार र संयम वृद्धि हुने मान्यता छ । दसैंको दोस्रो दिन आज देशभरिका नवदुर्गा मन्दिर र शक्तिपीठमा भक्तजनको भिड लागेको छ ।

धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुको घुइँचो लागेको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैंटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ ।