विराटनगर ।  विराटनगरमा२५ वर्षीय  युवतीमाथि सामूहिक बलात्कार  भएको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा 
तीन जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । 
तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् ।
पक्राउ पर्नेमा  १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ । 
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले  विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानको  राति बलात्कार गरेको बताए ।
घटनामा संलग्नहरू आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटेलमा पुगेका थिए ।
 खाना खाएपछि सिटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरू फर्किएर आए । 
फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डिएसपी दाहालले दिए ।