इटहरी । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै कोसी प्रदेश पुनःनामाङकन सङ्घर्ष समितिले धनकुटामा यातायात ठप्प पारेको छ ।
गएको भदौ आठ गते धनकुटाको राजारानीमा आयोजित युवा सङ्घको कार्यक्रम बिथोल्न खोजेको आरोपमा प्रहरीले असोज २५ गते पहिचान पक्षधरका तिन जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका कार्यकर्ताको विनाशर्त रिहाइको माग राखेर समितिले आज बिहानै देखि कोसी राजमार्गको भेडेटार–फोक्लेण्ड टापु खण्ड अवरुद्ध पारेको हो । समितिका कार्यकर्ता भेडेटार र फोक्लेण्ड टापुमा भेला भएर सडक अवरुद्ध गरेका छन् ।
सङ्घर्ष समितिको अवरोधका कारण कोसी राजमार्ग भएर धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, पाँचथर लगायत पहाडी जिल्ला आउने जाने यात्रु बाटैमा अलपत्र परेका छन् ।
बन्द कर्ताको मागका विषयमा धनकुटा प्रशासन गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका छन् । बन्द कर्ताका मागका विषयमा छलफल भइरहेकाले उपयुक्त निर्णय लिइने उनको भनाइ छ । यस्तै बन्द यातायात सुचारु गराउने विषयमा सङ्घर्ष समिति सँग कुरा भइरहेको पौडेलले बताए ।