विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकार बनाउन झगडा गर्दै युद्धमा गएका काँग्रेसका ८ भाईले युद्ध जितेर आएको बताएका छन् ।
मुख्यमन्त्रीले राखेको विश्वासको प्रस्तावका सम्बन्धमा प्रदेश सभामा बोल्दै नेता थापाले मुख्यमन्त्री बन्न झगडा गरेर कुण्ठा पोखेको र युद्धमा गएको भन्दै उनले युद्ध जितेर घर आएकाले गला मिलाएको टिप्पणी गरे ।
पूर्वमख्यमन्त्री समेत रहेका नेता थापाले कोशी प्रदेश सभामा लामो समय देखी चलिरहेको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल पनि सकिएको बताएका छन् ।
थापाले भने, ‘युद्धमा गएका साथीहरू जितेर माला लाएर फर्किसक्नु भो त्यसैले हामीले गलामात्र नभएर गाला पनि मिलाइ सक्यौं ।’
उनले गाला जोडाउने कला एमालेसँग सिकेको बताए । एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेकाले अब सबै मिलेर प्रदेशलाई प्रगतिको बाटोमा लैजानुपर्ने उनको भनाइ थियो ।
नामकरणलाई लिएर पहिचानको मुद्दा जीवित रहेकाले सरकारले वार्ताबाट समाधान गर्नुपर्ने उनको जोड छ ।