इटहरी । फरक फरक शहर र साँस्कृतिक विविधता रहेको सुनसरीको महत्वलाई उजागर गर्न पत्रकारहरुले खोजमुलक सामाग्री प्रस्तुत गर्न आवश्यक रहेको सुनसरी प्रमुख जिल्ला अधिकारीले बताईन । 

नेपाल पत्रकार महासंघ सुनसरीले विजया दशमी,दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिँदै पत्रकारहरुले जिल्लाको विविधतालाई बाहिर ल्याउन आवश्यक रहेको बताईन । 

सुनसरीका उत्तर र दक्षिणी क्षेत्रका फरक फरक शहरहरुको विशेषता औल्याउँदै शहरहरुवीचकोे सद्भावले नै जिल्लाको परिचयलाई स्थापित गराउने उनको भनाई थियो । 

कार्यक्रममा पूर्वअध्यक्षद्वय कृष्णविनोद लम्साल र कृष्ण अधिकारीले आफ्ना प्रारम्भिक अनुभवहरू जोड्दै प्रविधि र पहुँच जति विस्तार भए पनि पत्रकारको अवस्था परिवर्तन नभएको, पत्रकारिता कर्म अझै अप्ठेरो अवस्थामा रहेको बताएका थिए ।

महासंघका उपाध्यक्ष गणेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव संजिव वाग्ले,प्रेस चौतारी नेपाल प्रदेश समितीका उपाध्यक्ष सुमन पुरी, जिल्ला अध्यक्ष शुभद्रा प्याकुरेल, पत्रकारहरू सुभद्रा प्याकुरेल, प्रेस सेन्टरका  राजन केडीलगायतले पत्रकारको पेसागत सुरक्षाको सवालमा गम्भीर हुन सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए ।।