धरान । मिर्गौला रोगबाट पीडित अरुणा तामाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका सदस्य ट्याम्पो चालक आयुष मगरकी श्रीमती तामाङको उपचारका लागि सहयोग गरिएको हो ।
तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस भई रहेको छ ।
दुवै मिर्गौलाले काम गर्न छाडेका तामाङको उपचारका लागि १७ हजार ५ सय सहयोग गरिएको हो ।
सङ्गठनको पहलमा विभिन्न सहयोगदाताहरूले प्रदान गरेको सहयोग रकम सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले चालक आयुष मगरलाई हस्तान्तरण गरे । उनको उपचारका लागि सङ्गठनको तर्फबाट सहयोग सङ्कलनको कार्यक्रमलाई निरन्तरता दिने सङ्गठनका धरान उपमहानगर अध्यक्ष कमल भट्टराईले बताए ।
श्रीमतीका लागि आफू मिर्गौला दिन तयार रहे पनि प्रत्यारोपणका लागि लाग्ने खर्च जुटाउन समस्या रहेको चालक मगरले बताए ।
आफू चालक रहेकाले बिहान बेलुकाको खर्च जुटाउन उनले मजदुरी गरिरहेकाले श्रीमती बचाइदिन सबैसँग अनुरोध समेत गरेका छन् ।