विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरीत माओवादी र एकीकृत विस्तार गरेपछि कोशी प्रदेशका मन्त्री राम रानाले पदबाट राजीनामा दिएका छन् ।
एमालेबाट मन्त्री भएका रानाले बिहान पदबाट राजीनामा दिएका हुन ।
मन्त्री परिषद् विस्तारमा असहमति जनाउँदै रानाले मुख्यमन्त्री केदार कार्की समक्ष राजीनामा बुझाएका हुन ।
एमालेको समर्थनमा मुख्य मन्त्री नियुक्त भएका कार्कीले एमालेका राम राना र काङ्ग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।
केन्द्रीय सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेपछि कार्कीले विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनी संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री नियुक्त भएपछि कार्तिक १ गते केन्द्रीय सत्ता गठबन्धनका दलहरूले विश्वासको मत दिएका थिए ।
उनले विश्वासको मत पाएसङै मन्त्रीपरिषद् विस्तारमा ढिलाइ गर्दै आएका थिए ।
उनले शुक्रवार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमल प्रसाद जवेगुलाई मन्त्री बनाएका थिए । सहमति विपरीत माओवादी र समाजवादीलाई सरकारमा लगेपछि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।