विराटनगर । कोशी प्रदेशमा मन्त्री बन्न चाहनेहरूको सङ्ख्या धेरै हुँदा कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सकस भएको छ ।
उनलाई आफ्नै गुट र पार्टीका प्रदेश सभा सदस्यको व्यवस्थापनमा सकस हुँदा गठबन्धन दलबाट पनि मन्त्री थप्ने नाम बढ्दो छ ।
अहिले १० जना भन्दा बढी प्रदेश सभा सदस्य मन्त्री बन्ने दौडमा छन् । यसकालागि केन्द्रीय नेताहरूको समेत मुख्यमन्त्री कार्कीलाई फोन आउन थालेको छ ।
एमालेसङको सहमति विपरीत माओवादी र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गरेपछि कोशीमा पनि केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूको मात्रै सरकार छ ।
एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएका ७ जना मध्य सम्शेर राईलाई उनले मन्त्री बनाएका छन् ।
काङ्ग्रेस पार्टी सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित सत्ता गठबन्धनका शीर्ष नेताहरूको निर्णय विरुद्ध केदार कार्कीलाई मुख्यमन्त्री बनाउन विद्रोह गरेका हरुकै व्यवस्थापन गर्न नसकेका मुख्यमन्त्रीलाई अर्को समूहबाट समेत मन्त्री बनाउन दबाब छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन विद्रोह गर्ने समूहका सांसद रामकुमार खत्रीलाई तत्कालै मन्त्री बनाउन दबाब आइरहेको छ । उनी उद्धव थापा नेतृत्वको सरकारमा केही दिन मन्त्री भएका थिए । उनलाई मन्त्री बनाउन डा शेखर कोइरालाको नै दबाब छ ।
कार्कीलाई मुख्यमन्त्री बनाउन डिजाइनरको भूमिकामा रहेका काँग्रेस नेता डाक्टर सुनिल शर्माले मोरङका मानबहादुर लिम्बुलाई मन्त्री बनाउन दबाब दिँदै आएका छन् ।
उनलाई मन्त्री बनाउन मोरङ काँग्रेसका सभापति समेत रहेका सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूको समेत दबाब छ ।
यस्तै मुख्यमन्त्री बनाउन हस्ताक्षर नगरे पनि अन्तिम समयमा केदार कार्की खेमामा पुगेका हिमाल कार्की पनि मन्त्री बन्ने दौडमा छन् ।
डाक्टर शेखर कोइराला निकटकी सांसद इन्दिरा थापा पनि मन्त्री बन्ने लबिङमा छिन् ।
उनी कोइराला परिवारसङ अत्यन्त निकट हुन । जपी फाउन्डेसनमा समेत काम गरेकी उनलाई मन्त्री बनाउन कोइराला परिवारको दबाब रहेको कार्की निकट श्रोतले जनाएको छ ।
यस्तै शीर्ष नेताहरूको निर्णयको विरुद्ध गएकी सांसद लीला राई पनि मन्त्री बन्ने दौडमा छिन् ।
यसअघि नै काँग्रेसको विद्रोही समूहबाट सांसद शम्शेर राई मन्त्री बनिसकेका छन् ।
पार्टी र गठबन्धन एक भएको भन्दै काङ्ग्रेसका संस्थापन पक्षका २१ सांसद मध्यबाट पनि मन्त्री बन्ने आकाङ्क्षी धेरै छन् ।
ती मध्यका एक हुन भूपेन्द्र राई । उनी पनि मन्त्री बन्ने तीव्र लबिङमा छन् । उनी यसअघि दलका प्रमुख सचेतक थिए ।
एमालेका ३९ सांसद र काँग्रेसबाट विद्रोह गरेका ८ जना सांसदको समर्थनमा असोज २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीले कार्तिक १७ गते शुक्रवार एमालेको सहमतिबिना माओवादीबाट गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेका थिए । आफ्नो पार्टीको सहमति बिना गठबन्धनका दुई दललाई सरकारमा समावेश गराएको भन्दै एमाले भने सरकारबाट बाहिरिइसकेको छ ।
माओवादीमा पनि मन्त्री बन्नेको लाइन
संविधानको धारा १६८(५) अन्तरगत कोशी प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार माओवादीका इन्द्र आङ्वोलाई बनाउने निर्णय शीर्ष नेताहरूले गरे । तर उनलाई मुख्यमन्त्री हुन कार्कीले रोके । भागमा आएको मुख्यमन्त्री नपाएको नेकपा माओवादी केन्द्रमा अहिले मन्त्री बन्न चाहनेको लाइन छ ।
माओवादीबाट अहिले गणेश उप्रेती मन्त्री बनी सकेका छन् । उनीबाहेक उदयपुरका नारायण बुर्जा मगर मन्त्री बन्ने दौडमा छन् ।
उद्धव थापा मुख्यमन्त्री बन्दै बुर्जालाई मन्त्री बनाउने वचन दिइएको थियो तर उनको साटो राजेन्द्र कार्कीलाई मन्त्री बनाइएपछि उनले तीव्र असन्तुष्टि जनाएका थिए । सामाजिक सञ्जालमा पार्टी छाड्ने सम्मको धम्की दिएका मगर बाहेक बाबुराम गौतम पनि मन्त्री बन्न चाहान्छन । उनलाई सभामुखबाट राजीनामा गर्न लगाइएको थियो । सभामुख हुँदै उद्धव थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका गौतमले अदालतले थापालाई बरखास्त गरेपछि दोस्रो पटक सभामुख बाट राजीनामा गरेर थापालाई मुख्यमन्त्री बनाउन सहयोग गरेका थिए ।
मगर र गौतम बाहेक राजेन्द्र कार्की, गम्बु शेर्पा, महिला कोटाबाट गीता तिम्सिना पनि मन्त्री बन्ने लाइनमा छन् ।
कोशी प्रदेशको मुख्यमन्त्री भएसङै हिक्मत कार्कीले मन्त्रालयको सङ्ख्या १३ बाट घटाएर ९ बनाएका छन् ।
नौ मन्त्रालय रहेको कोशी प्रदेशमा एकीकृत समाजवादीले समेत थप १ मन्त्रालय दाबी गरेको छ । समाजवादीका कमल प्रसाद जबेगु अहिले मन्त्री छन् ।