विराटनगर । प्रसिद्ध धार्मिक स्थल चतरा धामबाट आजदेखि बृहत् बृहत्तर वराहक्षेत्र परिक्रमा सुरु भएको छ ।
१५ दिवसीय वृहत् पदयात्राले उदयपुर, धनकुटा सुनसरी जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्ने छ ।
परिक्रमाको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा कार्कीले आफू हिन्दु धर्मावलम्बी भएकाले हिन्दु धर्मको वकालत गर्ने बताए ।
उनले वराहक्षेत्र, पाथीभरा र हलेसी धामको विकासमा प्रदेश सरकारको विशेष ध्यान रहेको बताए । उनले फाल्गुननन्द, आत्म नन्द र खुवालुङको पनि विकास गर्दै जाने बताए ।
पदयात्राका क्रममा सुनसरी उदयपुर र धनकुटा धार्मिक तथा ऐतिहासिक स्थलमा पुगेर पूजा आजा गरिने छ ।
चतरा धामबाट सुरु भएको पदयात्राका क्रममा उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाकाल भगवतीको पहिलो दर्शन गरिने छ । त्यसपछि कोशी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ ।
२५ गते बिहान मैनामैनीमा अवस्थित मैना कुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने छ ।
२६ गते पदयात्रा त्रिवेणी धाम पुग्नेछ । २७ गते सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर पुग्नेछ ।
२८ गते मूल घाट विश्रान्ति धाम पुग्नेछ । धनकुटाको बेलहरा, साँगुरी गढी, नमस्ते झरना हुँदै कार्की छाप– भेडे टार हुँदै पदयात्रा धरान आइपुग्नेछ ।
पदयात्रा धरानको शिवजट्टाधाम– सुधारासुधार मङ्सिर १ गते आइपुग्नेछ । मङ्सिर २ गते बुढासुब्बा, दन्त काली, चण्डेश्वर मन्दिरको दर्शन गरिने छ । मङ्सिर ३ गते तरहरा– इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वेश्वर महादेव मन्दिर पदयात्रा आइपुग्नेछ ।
मङ्सिर ४ गते पदयात्रा रामधुनीधाम आइपुग्नेछ । पदयात्राले रामपुरा, मानपुर सिङ्घियाको परिक्रमा गर्नेछ । त्यसपछि पदयात्रा प्रकाशपुर, राजा बास, सालबनी आइपुग्नेछ ।
मङ्सिर ६ गते पदयात्रा शक्ररुद्र तीर्थ चक्रघट्टी आइपुग्नेछ । मङ्सिर ७ गते चतरा धाम हुँदै ८ गते वराहक्षेत्र पुगेर वराह भगवानको गर्भ गृहको दर्शनका लागि पदयात्रा पुग्नेछ ।
पदयात्राका क्रममा जगद्गुरु पीठ र स्थानीय आयोजकले महाप्रसादको प्रबन्ध गर्ने जगद्गुरु बालसन्तले जानकारी दिए ।