सुनसरी । मुस्लिम अगुवाहरू सुनसरीमा हुन लागेको इज्तेमा तत्काललाई स्थगन गर्ने निर्णय गरेका छन् ।

दुहबी र इटहरीमा हुन लागेको इज्तेमा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्काल स्थगन गर्ने निर्णयमा पुगेको मुस्लिम अगुवाहरूले बताएका छन् ।

मुलुकको कानुन र सरकारको निर्णयको कदर गर्दै तत्कालकालागि इज्तेमा कार्यक्रम स्थगन गर्ने सहमति जुटाइएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । सरकारले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै तत्काललाई कार्यक्रम नगर्नु नगराउनु भनेकाले सोही अनुरूप आफूहरू कार्यक्रम स्थगन गर्ने निर्णयमा पुगेको अन्सारीले जानकारी दिए । देशको वर्तमान परिस्थिति र घटनाक्रमले शान्ति सुरक्षामा चुनौती देखिएकाले मुस्लिम अगुवाहरूको भेलाले इज्तेमाका सबै कार्यक्रम तत्काललाई स्थगन गर्ने निर्णय उनीहरूको भनाई छ ।

सुनसरीको इटहरीस्थित खनारमा मङ्सिर ५ देखि ७ र दुहबीमा ७ देखि ९ गते सम्म मुस्लिम धर्म सभा इज्तेमा कार्यक्रम आयोजना गर्न लागिएको थियो । जसलाई गृह मन्त्रालयले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै कार्यक्रम गर्न अनुमति दिएको थिएन ।