सुनसरी । धरानमा एएफसी सी लाइसेन्स प्रशिक्षक कोर्ष सुरु भएको छ ।
एन्फा कोसी प्रदेशको आयोजनामा मङ्गलवारदेखि सुरु कोर्षको धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले उद्घाटन गरेका छन् ।
धरानस्थित एन्फा एकेडेमीमा एक सातासम्म चल्ने कोर्षमा राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल सहित कोसी प्रदेशका विभिन्न जिल्लाबाट छनौट भएर आएका २४ जना सहभागी छन् ।
सहभागी सबै डी लाइसेन्स प्राप्त प्रशिक्षक (कम्युनिटी कोर्ष) गरेकाहरू रहेको आयोजकले जनाएको छ ।
सहभागीहरूलाई एन्फा अन्तर्गत प्रशिक्षण शिक्षा विभागका संयोजक संजित सिंह, प्रशिक्षक श्याम मानन्धरले प्रशिक्षण दिने कोसी प्रदेश फुटबल संघका महासचिव भगीरथ आलेले बताए ।
दुई चरणमा हुने प्रशिक्षणमा प्राविधिक रूपमा दक्ष, फिजिकल फिटनेस लगायतमा पास हुनुपर्ने प्रावधान रहेको छ । पास भएकाहरूले मात्रै लाइसेन्स पाउनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अन्तर्गत सी लाइसेन्स प्रशिक्षक कोर्ष आयोजनाको जिम्मेवारी एन्फाले कोसी प्रदेश फुटबल संघलाई दिएपछि कार्यक्रम आयोजना गरिएको एन्फा कोसी प्रदेश अध्यक्ष किशोर राईले बताए ।
उनले फुटबललाई पूर्ण व्यावसायिकीकरण गर्दै रोजगारीमुखी बनाउन दक्ष प्रशिक्षक उत्पादन गर्नु आजको आवश्यकता रहेको बताए ।