इटहरी । जंगली हात्तीको आक्रमणबाट भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

दमकको बेलडाँगीस्थित शरणार्थी शिविरमा बस्दै आएका तामाङ जंगलमा मृत अवस्थामा फेला परेका थिए । 

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । 

शिविरको सेक्टर नं २ को हट नं. २५२ मा बस्दै आएका तामाङ दिउँसो दाउरा खोज्न जंगल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जंगलमै मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालयका प्रमुख राईले बताए ।  


यसैगरी मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जंगली हात्तीले भत्काएको छ । स्थानीय बाँसबारी सामुदायिक वनबाट गाउँ छिरेको एउटा हात्तीले पर्खाल भत्काएर घरभित्र पसी चार सय किलो धान र दुई सय किलो चामल खाएको पीडित दाहालले जानकारी दिए ।।