इटहरी । फर्जी नागरिकता बनाएर जग्गा किर्ते गरी विक्री गरेको आरोपमा प्रहरीले इटहरीबाट एक जनालाई पक्राउ गरेको छ । एक व्यक्तिको जग्गा नागरिकता फर्जी बनाएर अर्को व्यक्तिलाई बिक्री गर्ने गिरोहका एक जनालाई प्रहरीले पक्राउ गरेको हो । 

सप्तरी राजविराज घर भइ इटहरी ४ सङ्गीत चोकमा बस्दै आएका २९ वर्षीय दिनेशकुमार देवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार देव लगायतको गिरोहले सुनसरीको बराहक्षेत्र ३ भरौलमा रहेको कि.नं. ६६९४ को ज.बि. १.१६.११.० क्षेत्रफल सोही ठाउँको कि.न ७५० को ज.बि १.०९.१५.५० क्षेत्रफलको जग्गाको धनीपुर्जा समेत फर्जी बनाई बिक्री गरेको पाइएको छ ।

बिक्री गरेर टोकन बैना समेत लिएको अवस्थामा पीडित जग्गाधनी सञ्जीव खनालले उजुरी दिएपछि देवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । 

पक्राउ परेका देवलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए ।