इटहरी । इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋण सम्बन्धी कारोबार गर्न रोक लगाएको छ ।
सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै इटहरी उपमहानगरपालिकाले आर्थिक कारोबार गर्न रोक लगाएको छ ।
इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए ।
इटहरी उपमहानगरपालिकाले सोमबार वडा कार्यालय मार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई एक परिपत्र जारी गर्दै बचत तथा ऋण सम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको छ ।
उपमहानगरपालिका द्वारा जारी पत्रमा भनिएको छ, ‘टोल विकास संस्थाहरूले सङ्कलन गरेको रकम सम्बन्धित बचत कर्तालाई फिर्ता दिने व्यवस्था मिलाइनेछ । आगामी आर्थिक वर्ष देखी बैङ्क तथा वित्तीय संस्थाहरूले गर्ने बचत तथा ऋण सम्बन्धी आर्थिक कारोबारहरू टोल विकास संस्थाहरूले गर्न,गराउन नपाइने व्यवस्था नीति अवलम्बन’ गरिएको छ ।
१३ औँ नगर सभाबाट टोल विकाससँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अवलम्बन गरिएको हुँदा बचत तथा ऋणको कारोबार गर्दै आएका टोल विकास संस्थाहरूलाई अब उप्रान्त कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।
हाल इटहरी उपमहानगरपालिकाका २० वटा वडामा टोल विकास संस्थाहरू सञ्चालन रहेका छन् । हाल सञ्चालनमा रहेका टोल विकास संस्थाहरूले मासिक रूपमा १ सय देखी पाँच सय रुपैयाँ सम्म बचत सङ्कलन गर्दै आएका छन् । यसरी सङ्कलन गरेको रकमबाट टोलका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा ऋणमा लगानी गर्ने गरेका छन् । व्याजबाट आएको रकम संस्थाको विकास तथा सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् ।
टोल विकास संस्थाहरूले गरेको आर्थिक कारोबार अनुसार बचत रकमहरू आगामी २०८० चैत्र मसान्त सम्ममा फिर्ता गर्ने गराउने उपमहानगरले जनाएको छ ।
‘टोल विकासको अस्तित्व रहन्छ, आर्थिक पक्ष मात्र हटाउने हो ’
टोल विकास संस्थाहरूले गर्ने आर्थिक पारदर्शीताको बारेमा गुनासो आउन थालेपछि नियमन गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।
टोल विकास संस्थालाई आर्थिक कारोबार गर्ने अधिकार छैन, वित्तीय कारोबार गर्ने भए पनि कहीँ दर्ता पनि हुँदैनन्, भोली सहकारी जस्तो आर्थिक समस्या आउन सक्ने भएकाले समयमै व्यवस्थापन गरिएको हो, प्रमुख प्रशासकीय अधिकृत मेहताले भने ।
इटहरीमा टोल विकास संस्था धेरै भएको र सबैले आर्थिक कारोबार गर्ने हुँदा नियन्त्रण भन्दा बाहिर जाने अवस्था आएपछि यो नीति अवलम्बन गरिएको मेहताले बताए ।
टोल विकास संस्थाको उद्देश्य सामाजिक कार्य गर्ने, सृजनात्मक कार्य गर्ने हो, तर आर्थिक कारोबार गर्दै उद्देश्य भन्दा बाहिर गएको देखिए पछि यस्तो कदम चाल्नु परेको मेहताको भनाई छ ।
टोल विकास संस्था सामाजिक संस्था हो, तर बचत र ऋणको कारोबार गर्दै टोल विकास संस्थाहरू सहकारी जस्तो ठानेर कारोबार गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए ।
अब आगामी दिनमा टोल विकास संस्थालाई सामाजिक कार्यमा क्रियाशील गराइने उनले बताए ।