सुनसरी - नेपाल भारतबिचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन काम सुनसरीमा पनि सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीको आयोजनामा भारतसँग सीमा जोडिएको ६२ किलोमिटर क्षेत्रमा पर्ने सीमा स्तम्भहरूको मर्मत सम्भार कार्यको सुरु भएको हो ।
सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीले संयुक्त रूपमा सुनसरीको देवानगञ्ज गाउँपालिका-३ साबिक कप्तानगञ्जको पाँचौंसिमरमा पर्ने १८९ नम्बर सहायक सीमा स्तम्भको रंगरोगन गरी मर्मतको काम सुरु भएको हो ।
सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक लकेश कुमार तुम्बाहाम्फेले सुनसरी तर्फका १ सय ३३ वटा अन्तर्राष्ट्रिय सीमा स्तम्भहरू मर्मत सम्भार गरिने बताए ।
सशस्त्र प्रहरी उपरीक्षक तुम्बाहाम्फेका अनुसार नेपाल सरकारको निर्णय बमोजिम एपीएफले जिम्मेवारी पाए बमोजिम बिजोर अङ्कका सीमा स्तम्भहरूको मर्मत सम्भार को काम अघि बढाइएको हो ।
जोर अङ्कका स्तम्भहरू भने भारतीय पक्ष्यले मर्मत सम्भार को काम सकाई सकेको तुम्बाहाम्फे जानकारी दिए ।
कोसी प्रदेशको हकमा बराह बाहिनीले सीमा स्तम्भ मर्मत सम्भार को नेतृत्व सम्हालेको छ ।
बराह बाहिनीका अनुसार कोसी प्रदेशमा जम्मा ४ सय ८४ वटा सीमा स्तम्भ मर्मतसंभार गरिने छन् ।
यसअघि तीन दिनअघि सीमा स्तम्भ मर्मत सम्भार कार्य अन्तर्गत सशस्त्र प्रहरी बलले झापाले जिल्लाभित्रका ३१७ वटा, मोरङमा रहेका ३४ वटा र सुनसरीको अन्तर्राष्ट्रिय सीमामा रहेका १३३ वटा सीमा स्तम्भहरूको मर्मत सम्भार कार्य सुरु गरिएको घोषणा गरिएको थियो ।