विराटनगर। आदिवासी जनजातिका विभिन्न सङ्घ सङ्गठनले आन्दोलनका क्रममा पक्राउ परेका पहिचान पक्षधर अभियान्ताहरुलाई नछाडे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधवार संयुक्त विज्ञप्ति निकाल्दे उनीहरूले कोशी प्रदेशमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा गिरफ्तार गरिएका अभियन्ताहरूलाई तत्काल विना सर्त रिहा गर्न नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ,नेपाल मगर सङ्घ, नेपाल तामाङ घेदुङ्, नेवा देय दवु किराँत राई यायोख्खा, किराँत याक्थुङ्ग चुम्लुङ, तमु ह्युल छाजोधी, सुनुवार सेवा समाज, नेपाल शेर्पा सङ्घ, कुमाल समाज नेपाल, भुजेल सेवा समाज लगायतका जातीय सस्थाहरुले विज्ञप्ति निकाल्दै शान्तिपूर्ण आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई छाड्न माग गरेका हुन् । 

विज्ञप्तिमा कोशी नामाङ्कन खारेजीको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका पहिचान पक्षधर अभियन्ताहरूलाई  खोटाङ, भोजपुर र झापा जिल्लाबाट पक्राउ गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘कसैलाई घरमा सुतिरहेको अवस्थामा छापामार शैलीमा घर फोडेर त कसैलाई बाटोमा हिँडिरहेको अवस्थामा समेत विना पक्राउ पुर्जी प्रहरीले अनावश्यक बल प्रयोग गरी गिरफ्तारी गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा मङ्सिर २६ गतेदेखि रातीसम्ममा खोटाङबाट भूपू मन्त्री गोपाल किराँती, राजेश राई, गन्धमान राई, विजय राई, उदिम राई, झापाबाट पाण्डव चौधरी, निशान राई, विजय थापा, शङ्कर  खत्री र भोजपुरबाट विदुर राई, मिना राई, दिनेश राई, पनन राईलाई पक्राउ गरिएको उल्लेख छ छ ।