सुनसरी । भारतको पश्चिम बङ्गाल क्षेत्रबाट झापाको बाहुन डाँगी हुँदै नेपाल छिरेका ३ दर्जन बढी  हात्ती नफर्कदा पूर्वी तराईका बासिन्दा आतङ्कित भएका छन् ।
पछिल्लो एक महिनामा मात्र झापा, मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा हात्तीको आक्रमणमा परी चार जनाले ज्यान गुमाए पनि स्थानीय र प्रदेश सरकारले हात्ती नियन्त्रणका लागि कुनै पहल नगर्दा स्थानीय झनै त्रसित बनेका छन् ।
एक महिनायता हात्तीको बथान चार कोसे झाडीस्थित मोरङको बेलबारी र सुन्दरहरैचा नगरपालिका क्षेत्रमा देखिने गरेका छन् । हात्ती दिनभर जङ्गलमा बस्ने र रात परेपछि बस्ती पस्ने गरेका छन् ।
आहाराको खोजीमा आउने हात्तीले बेलबारीमा मात्र बिसौँ बिघा जमिनमा लगाइएको मकै र केरा खेती नष्ट गरेको जिल्ला वन कार्यालय मोरङले जनाएको छ । 
पछिल्लो एक महिनायता बेलबारी क्षेत्रमा जङ्गली हात्ती केन्द्रित हुँदा २० घरमा क्षति गरिसकेको स्थानीय महेश सुबेदीले बताए । हात्तीबाट भएको क्षतिको क्षतिपूर्ति स्थानीय र सङ्घीय सरकारबाट समेत उपलब्ध गराउने काम भए पनि नियन्त्रणको लागि संयुक्त गस्ती गर्ने बाहेक अन्य काम पर्याप्त हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।