सुनसरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम जारी प्रतियोगितामा तेस्रो पटक आमनेसामने हुन लागेका हुन् ।

 जारी प्रतियोगितामा एपीएफ अपराजित छ । सीता राना मगरको कप्तानीमा रहेको एपीएफ लगातार तेस्रो पटक कोशीलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ ।

पहिलो क्वालिफायरमा कोशीमाथि ५२ रनको जित हात पार्दै एपीएफ फाइनल पुगेको थियो । लिग चरणमा पनि कोशी ८ विकेटले पराजित भएको थियो । यसअघिका दुवै भेटमा कोशीले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । क्वालिफायरमा एपीएफले सुरुवाती ब्याटिङ गर्दै १ सय ३९ रन बनाउँदा इन्दु बर्माले अविजित ५६ रनको इनिङस खेलेकी थिइन् ।

जवाफमा कोशीले ८७ रन मात्र बनाउन सक्यो । राष्ट्रिय क्रिकेट टिमकी पूर्वकप्तान रुविनाको नेतृत्वमा रहेको कोशी, एपीएफसँग निरन्तरको हारमा पूर्णविराम लगाउँदै च्याम्पियन बन्ने लक्ष्यमा छ ।

दुवै टिममा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीको बाहुल्य रहेको हुँदा फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । एपीएफ सर्वाधिक सफल ५ पटकको विजेता हो । कोशी एक पटक सन् २०१९ मा च्याम्पियन बनेको थियो ।