सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारी पुन आन्दोलित भएका छन् ।
वृत्ति विकासको माग गर्दै यसअघि पनि आन्दोलनमा उत्रिएका उनीहरूले आज बिहानसम्म दिएको अल्टिमेटममा पनि माग पुरा नभएपछि सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनरत चिकित्सक तथा कर्मचारीले आज बिहानसम्म कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कार्यकारिणी बैठक बसाएर अन्तर्वार्ताको मितिबारे निर्णय गर्न समय दिएका थिए । तर कायममुकायम उपकुलपति कार्की माग पुरा गर्न बेवास्ता गर्दै बिदामा बसेपछि प्रतिष्ठानको इमर्जेन्सी, आइसियु, डाइलाइसिस र वार्डमा भर्ना भएका बिरामीहरू बाहेकको सम्पुणर् सेवा ठप्प पारेर आन्दोलनमा उत्रिनु परेको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले जानकारी दिइन ।
प्रतिष्ठानका शिक्षकहरूले पनि सेवा बहिष्कार गरेपछि पठनपाठन र परीक्षाका कार्यक्रमहरू पनि प्रभावित भएका छन् ।
बषौंदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गर्दै शिक्षक, कर्मचारीहरूले पटक पटक आन्दोलन गरेका थिए ।
गत कार्तिक २० गते आन्दोलनरत शिक्षक, कर्मचारीहरूसँग व्यवस्थापन पक्षले छुट्टा छुट्टै ४ बुँदे सहमति गरेको थियो । उक्त सहमति बमोजिम आवश्यक विधि र प्रक्रिया पुरा गरेर पुस २ देखि १५ गतेसम्म अन्तर्वार्ता सुचारु गर्नुपर्ने भए पनि कार्यान्वयन नभएपछि पुनः उनीहरू आन्दोलित भएका हुन् ।
आन्दोलनकारीहरूले कार्कीका लागि प्रतिष्ठानमा निषेधित क्षेत्र घोषणा गर्दै उनलाई बर्खास्त गर्न कुलपति एवं प्रधानमन्त्रीलाई पत्राचार गरेका छन् ।