सुनसरी । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको एकीकृत सन्थाल बस्ती नबन्ने भएको छ ।
२०७७ फागुन १८ गते तामझामका साथ मन्त्रीहरू सहित आएका पूर्व प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी ८ मा बस्तीको शिलान्यास गरेका थिए । बस्तीमा चिटिक्क परेका घर बनाएर सन्थाल समुदायलाई राख्ने बताएका ओलीले भाषण गरेको २ वर्ष बितिसक्दा पनि भवन बन्ने अझै अत्तोपत्तो नभै अलपत्र परेको थियो ।
जग्गाको विषयलाई लिएर कुरा नमिल्दा ठेक्का लागे पनि बस्ती निर्माणको काम अघि बढ्न नसकेपछि अब ठेक्का रद्द गर्ने प्रक्रिया अगाडी बढाएको संघीय आयोजना कार्यान्वयन इकाई मोरङले जनाएको छ ।
बस्ती निर्माण स्थल रहेको उर्लाबारी स्थित रातो होली खोल्सीको उत्तर-दक्षिण क्षेत्रफलमा फैलिएको सात सय ८० मिटर लम्बाइ भित्र पर्ने ५२ हजार आठ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार सात सय ६८ वर्ग मिटरभित्र बस्ती विकास गरिने भनिएको थियो । 
     एकीकृत बस्ती विकास सम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालय सहित संरचना निर्माण गर्ने योजना समावेश छ । सडक, खानेपानी, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवन लगायतको निर्माण गरी चाँडै हस्तान्तरण गर्ने पूर्व प्रधानमन्त्री ओलीले आश्वासन दिएका थिए । 
      निर्माण गर्न लागिएको बस्तीका लागि छुट्ट्याइएको जग्गाको विवाद नसुल्झाई हतार हतार शिलान्यास गरिएकाले काम अगाडि बढ्न नसकेको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले बताए । चार दशक देखी स्थानीयले जोत भोग गर्दै आएको जग्गामा स्थानीयसँग छलफल नै नगरी जबरजस्ती शिलान्यास गरिएकाले काम अघि बढाउन समस्या भएको खरेलको भनाई छ । खरेलले भने- शिल्यासकै बेला नापजांच गरेर स्थानीयसँग कुरा मिलाउनुपर्ने थियो तर त्यो बेला विवादकै बिच प्रहरी प्रशासनको बलमा शिलान्यास गरियो अहिले कामै अघि बढ्न सकेको छैन । 
     ऐलानी जग्गा भए पनि वर्षौँदेखि भोग चलन गर्दै आएकाले सरकारले सम्बोधन गर्नुपर्ने भन्दै शिलान्यासकै बेला स्थानीयले विरोध गरेका थिए । जग्गाको विषयलाई लिएर कुरा नमिल्दा बस्ती निर्माणको लागि ठेक्का लाग्ने बाहेक कुनै पनि काम हुन सकेको थिएन । पूर्वी नेपालको झापा र मोरङमा बस्ने सन्थाल जाति सीमान्तकृतमा पर्छन् । उर्लाबारी नगरपालिका ८ स्थित नदी किनारामा सन्थाल जातिका करिब ६५ घर परिवार दयनीय अवस्थामा गुजारा चलाइरहेका छन् ।
     तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा निर्माण गर्न लागिएको भनेको बस्तीमा १ सय ३२ घर निर्माण गर्ने योजना समेटिएको थियो । जसमा १ सय ६ घर सन्थालको र २६ घर उराउ जातिको निर्माण गर्ने भनिएको थियो । पूर्व राष्ट्रपति भण्डारीको आफ्नै देउरानी लक्ष्मी भण्डारी शिलान्यासका बेला उर्लाबारी नगरपालिकाको उपप्रमुख थिइन । मोरङ पूर्व राष्ट्रपति भण्डारीको गृह जिल्ला पनि हो । तर पनि कामले कुनै गति लिन नसकेपछि बस्ती नबन्ने भएको हो ।