विराटनगर । कोशी प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता नलिए नेकपा एमालेले कठोर कदम चाल्ने जनाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्ने सम्मको चेतावनी दिएको छ । 
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले दलका तर्फबाट पत्रकार सम्मेलन गर्दै तत्काल अध्यादेश फिर्ता नलिए निष्कर्ष बिहिन तुल्याउन लागि आवश्यक तयारी गर्ने बताए । उनले अध्यादेश फिर्ता नगर यो अध्यादेश फेल गराउन एमाले बाध्य भएर लाग्ने चेतावनी दिए । 
उनले भने संसद्को सामान्य सिद्धान्त समेत उलङ्घन गरेर अध्यादेश ल्याइएको छ यसले प्रदेश संरचना माथि नै प्रश्न उठेको छ । 
अध्यादेश मार्फत सत्ता गठबन्धनका  नेताहरूलाई गाडी सुबिधा  दिने व्यबस्था मिलाइएको छ । यसले प्रदेश संरचना प्रति जनताको आक्रोश झन् बढेको छ । सङ्घीय संसदमा समेत नभएको व्यवस्था प्रदेश सरकारले गरेको छ । प्रमुख सचेतक भण्डारीले भने, ‘एक जना सांसद भएको पार्टीलाई समेत गाडी सुविधा दिने व्यवस्था मिलाइनु यो सरकारको आप्पत्ती जनक कार्य छ । यस्तो गाडी सुविधाको व्यबस्था सातै प्रदेशमा छैन । गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्रीलाई गाडी सुविधा दिने भनेको थियो । पछि ठुलो हङ्गामा भएर त्यो फिर्ता भएको छ । ’ उनले सङ्घमा पूर्व प्रधानमन्त्री सम्मलाई गाडी सुविधा दिने व्यवस्था छ । बाँकी सबै दलका नेताहरूलाई र सबै प्रमुख सचेतकहरूलाई गाडी सुविधा दिने व्यवस्था नभएको बताए । उनले  नेपालको अध्यास सिद्धान्त र मान्यता भन्दा बाहिर गएर हाम्रो प्रदेशमा परिभाषा परिवर्तन गरेर गाडी सुविधा दिने काम घोर आप्पती जनक भएको बताए ।