सुनसरी — कोशी प्रदेश ट्राफिक प्रहरी कार्यलयले बिभिन्न स्थानबाट चोरी भएका १० वटा मोटरसाइकल र २ वटा चार पाङ्ग्रे गरी १२ वटा सवारी साधन पक्राउ गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । 

कार्यलयले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी बिभिन्न मितिमा हराएका सवारी साधन खोजतलास तथा नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

IMG_2732

झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा गत पुस १९ गतेदेखि खोजतलास तथा नियन्त्रणको लागि पाँच जना प्रहरी कर्मचारीको टिम परिचालन गरेको कार्यालयले जनाएको छ । प्रहरीको उक्त टिमले ती सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरी उपरिक्षक सरोज पौडेलले जानकारी दिए ।

सो टिमले बिभिन्न प्रहरी कार्यालयहरुमा हराएको भनी परेका निबेदन तथा गोप्य सुराकीको आधारमा खोजतलास एवम् चेकजाँचका क्रममा नियन्त्रणमा लिई अनुसन्धान गरेको उनले बताए ।