इटहरी । खुल्ला शङ्ख ध्वनि प्रतियोगिताको उपाधि गुरुलाई उछिन्दै विद्यार्थीले जितेका छन् । धरानमा नेपाल विद्यार्थी सङ्घ सुनसरीले आयोजना गरेको खुल्ला शङ्ख ध्वनि प्रतियोगिताको उपाधि पिण्डेश्वर विद्यापीठका विद्यार्थीले जितेका छन् । 
शङ्ख ध्वनि प्रतियोगितामा संस्कृत पढाई हुने धरानका क्याम्पस तथा विद्यालयका विद्यार्थी तथा गुरुहरुले सहभागिता जनाएका थिए ।
यस्तै कर्मकाण्ड गराउँदै आएका पण्डितहरूले पनि प्रतियोगितामा भाग लिएको नेपाल विद्यार्थी सङ्घ सुनसरीका सभापति प्रमोद भट्टराईले जानकारी दिए । 
विद्यार्थीहरूका लागि यसरी खुल्ला रूपमा शङ्ख बजाउने प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गरिएको नेविसंघ जिल्ला सभापति भट्टराईले दाबी गरे । 
प्रतियोगितामा जम्मा ३० जनाले भाग लिँदै शङ्ख बजाएका थिए । प्रतियोगीहरूले विभिन्न शैली अनुसार शङ्ख बजाउँदै आफ्नो कला प्रस्तुत गरेका थिए । 
प्रतियोगितामा दधिराम खनाल प्रथम भए । महेश दाहाल द्वितीय र सरोज पौडेल तृतीय भए ।
विजेताहरूलाई नगद पुरस्कार प्रथम ५ हजार, द्वितीय ३ हजार र तृतीय २ हजार सहित प्रमाणपत्र प्राप्त प्रदान गरिएको थियो । 
प्रतियोगिता निर्णायकमा प्राध्यापक माधव घिमिरे, दीपक पराजुली र अम्बर ढकाल रहेका थिए । 
पिण्डेश्वर क्याम्पसका प्रमुख काशीनाथ पौडेलले शङ्ख बजाउँदा फोक्सो स्वास्थ्य रहने र श्वासप्रश्वासको रोग नलाग्ने साथै  ध्वनिले सकारात्मक ऊर्जा उत्पन्न गराउने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेस कोसी प्रदेशका महामन्त्री उमेश थापाले  शास्त्रका दुई रत्नहरू मध्ये एक रत्न शङ्ख भएको बताए ।
काँग्रेस धरान नगर सभापति श्याम पोखरेलले समावेशी संस्कृतिको लागि शङ्ख बजाउने प्रतियोगिता सान्दर्भिक भएको बताए ।  
धार्मिक कार्यमा शङ्ख बजाउनु अनिवार्य नै हो । तर पछिल्लो समय धार्मिक कार्यमा राम्रो शैली र रित अनुसार शङ्ख बजाउने व्यक्तिको अभाव हुँदै गएको छ ।।