सुनसरी - अर्नाको आक्रमणबाट सुनसरीको कोसी गाउँपालिकाकी रञ्जुकुमारी मुखियाको मृत्यु भएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षमा घाँस काट्न गएकी रञ्जुको अर्नाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बिहान घाँस काट्न गएकी उनी दिउसोसम्म नफर्किएपछि आफन्तले खोजी गर्दा आरक्षमा अर्नाको आक्रमणबाट घाइते अवस्थामा भेटिएकी थिइन । उनको उपचारको क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नबिनकृष्ण भण्डारीले जानकारी दिए ।
मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पीडित परिवारलाई क्षतिपूर्ति दिइने प्रहरीले जनाएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख उपलब्ध गराउँदै आएको छ ।
आरक्ष प्रशासनका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि हाल सम्ममा अर्नाको आक्रमणमा परि ४ जनाको मृत्यु भएको छ भने ४३ घाइते भएका छन् ।