उद्योग सङ्गठन मोरङले ५६औँ स्थापना दिवस मनाएको छ । विक्रम संवत् २०२४ सालमा स्थापित उद्योगले  स्थापना दिवस मनाएको हो ।  स्थापना दिवसको अवसर पारेर सङ्गठनले विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ। सङ्गठनले आयोजना गरेको रक्तदान कार्यक्रममा उद्योगी व्यवसायी, श्रमिक, उद्योग प्रतिष्ठानका कर्मचारीहरू समेत गरी ३५ युनिट रगत सङ्कलन गरी विराटनगर स्थित ब्लड बैङ्कलाई प्रदान गरिएको छ। 
सङ्गठनको ५६औँ स्थापना दिवसको अवसरमा सङ्गठनका अध्यक्ष राकेश सुरानाले सङ्गठनका पूर्व अध्यक्षहरूले सङ्गठनको श्रीवृद्धि पुर्‍याएको योगदानको चर्चा गरे  । पछिल्लो दिनमा सङ्गठनले अध्ययन अनुसन्धानका आधारित नीतिगत बहस पैरवीलाई जोड दिँदै उद्यमशीलता प्रवर्द्धनको इको सिस्टम विकासमा क्रियाशील रहेको बताए । 
सोही अवसरमा अध्यक्ष सुरानाले उद्यमशीलता विकासमा आफ्नो भविष्य बनाउन चाहने आर्थिक रूपमा कमजोर लगनशील र मेहनती एक जना विद्यार्थीलाई विराटनगरको डिग्री क्याम्पसमा एम.वि.ए अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे । उनले उक्त विद्यार्थीलाई सङ्गठन अन्तर्गतको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रममा समावेश गरी उद्यमशीलता विकासका लागि आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्ने बताए । 
सङ्गठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले कुनै पनि संस्थाको गरिमा अभिवृद्धिमा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले  इतिहास निर्माणमा पूर्व अध्यक्षहरूले पुर्‍याएको योगदानको उनले प्रशंसा गरे । यस क्षेत्रको औद्योगिक विकास, लगानीमैत्री वातावरण निर्माणमा सङ्गठनले विगत देखि पुर्‍याउदै आएको योगदानलाई आगामी दिनमा समेत निरन्तरता दिने विश्वास व्यक्त गरे । 
५६औँ स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले व्यापार सङ्घ र सङ्गठनले उद्योगी व्यवसायीहरूको राष्ट्रिय मुद्दाहरूमा सहकार्य गर्दै आएकोमा खुसी व्यक्त गरे । उनले अगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । 

सङ्गठनका कार्यसमिति सदस्य एवं ५६औँ स्थापना दिवस कार्यक्रम आयोजना समितिका संयोजक जयेन्द्र शर्माले आर्थिक एवं औद्योगिक विकास प्रतिबद्ध सङ्गठनको संस्थागत विकासमा सहयोग पुर्‍याएकामा सबैलाई धन्यवाद दिए ।