सुनसरी - सुनसरी प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली नोट सहित पक्राउ परेका एक भारतीय नागरिकलाई सार्वजनिक गरेको छ । प्रहरीले आइतबार बिहान भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला परेको थियो । फेला पारेको नोट सबै एक हजार दरको रहेको प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । 
पक्राउ पर्नेमा भारतको बिहार सुपौलस्थित वीरपुर बस्ने २२ वर्षीय छोटु भनिने मोहम्मद शैयाद रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।
शैयादले चलाएर ल्याएको बीआरआर ११ एक्स ३४२९ नम्बरको भारतीय स्कारपियो गाडीलाई इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुल नजिक चेकजाँचको क्रममा नक्कली नोट बरामद भएको हो ।
भारतीय नम्बरको उक्त गाडी भण्टावारी नाकाहुदै पूर्व तर्फ आइरहेको र गाडीको आजसम्म भन्सार पास रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।
नक्कली नोट सहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको रेग्मीले बताए ।