विराटनगर । विराटनगर–२ सम्राट् दास दुवै कान कम सुन्छन् । तर, पढाइमा तेज छन् । मन पर्ने विषय ‘म्याथ’ हो । योसँगै चित्रहरू पनि कोर्छन् । उनले चित्रका विषयवस्तु भने समाजमा राम्रो काम गर्ने व्यक्तिहरूलाई बनाउने गरेका छन् । 
उनी विराटनगरको लिलिपुट स्कुलमा कक्षा ५ मा पढ्छन् । बुधवार सरस्वती पूजाको दिन, अरू साथीहरूभन्दा सबेरै विद्यालय पुगे । उनीहरूकै सहयोगमा आफूले कोरेका तस्बिर हार मिलाएर राखे । स्टल बनाए । अनि सबै तस्बिरमा मूल्य सूची राखे । 
सबैभन्दा अगाडि कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको तस्बिर थियो । त्यो तस्बिरको मूल्य नौ सय रुपैयाँ तोकिएको थियो । त्यही हारमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको अर्को तस्बिर थियो । ती तस्बिर उनले बिक्री गरे । यसबाट आएको पैसा आफ्नै लागि बचत गरी उपचारमा खर्च गर्ने योजना बनाएको बताए । उनीसँगै आमा कल्पना दास पनि उभिएकी थिइन । अरू साथीहरू पनि साथै थिए । 
मुख्यमन्त्री कार्की र मेयर बालेनको तस्बिर घण्टौँ मेहनत गरेर उनले बनाएको कल्पनाले सुनाइन । बालेनको शैक्षिक अभियानबाट  सम्राट् प्रभावित बनेको कल्पनाको भनाइ छ । 
सम्राट्ले चित्रकारिताको औपचारिक अध्ययन गरेका छैनन् तर युटुव हेरेरै राम्रोसँग बनाउन जानेका छन् । कल्पनाका अनुसार छोराले समाजमा राम्रो काम गर्ने उदाहरणीय व्यक्तिहरूको सूची बनाएर स्केच कोर्ने गर्छन् । यसबाहेक मानिसको जीवन, प्रकृति, देवीदेवता र अन्य विषय झल्कले तस्बिर पनि बनाउँछन् । विद्यालयका प्राचार्य चिरञ्जीवी तिम्सिनाले सम्राट्को क्षमतालाई कदर गर्दै विद्यालय प्रशासनले तस्बिरहरू प्रदर्शनीमा राखिदिएको बताए ।

सम्राट्ले बनाएका तस्बिर सरस्वती पूजा समारोहमा भाग लिन आएका अभिभावकहरूले खरिद गरिदिएका छन् । ऐच्छिक अङ्ग्रेजीमा स्नातकोत्तर कल्पना पहिले शिक्षिका थिइन तर छोरा सम्राट् फरक क्षमताको भएकै कारण उनकै लागि अहिले गृहिणी मात्र छिन् ।