सुनसरी । सुनसरीको रामधुनी मन्दिरमा व्यवस्थापन समिति र गुठी बिचको विवाद उत्कर्षमा पुगेको छ ।
नेपालकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र मानिएको मन्दिरमा व्यवस्थापन समितिले तालाबन्दी गरेपछि तीन दिन पूजापाठ रोकिएको रामधुनी बाबा बनखण्डी मन्दिरका महन्त कालिदास उदासीले बताए ।
गुठी मार्फत सञ्चालन रहेको मन्दिरमा व्यवस्थापन समितिको नाममा दैनिक पूजापाठ नै अवरोध गर्ने गरी हस्तक्षेप भएको बाबा बनखण्डी उदासीन आश्रमले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
गुठी संस्थान ऐन २०३३ को दफा १६ को उपदफा २ गुठी संस्थान कार्यब्यवस्था विनियम २०४९ को नियम ३६ को उपनियम १ र महन्त पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २७७ बमोजिम महन्तले काम गरिरहेको अवस्थामा व्यवस्थापन समितिको नाममा पटक पटक अवरोध भएको रामधुनी मठले आरोप लगाएको छ ।
व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्की नेतृत्वले गत पुस १ गते विवाह पञ्चमीका दिन मन्दिरमा ताला लगाएपछि तीन दिन दैनिक पूजापाठ रोकिएको मठाधिश कालिदास उदासीले बताए ।
गुठीबाट मन्दिर सञ्चालन हुने स्पष्ट कानुनी व्यवस्था हुँदा हुँदै पनि गैर कानुनी रूपमा गठन भएको मन्दिर व्यवस्थापन समितिको नाममा हुल हुज्जत गर्ने, पुजारीलाई धम्काउने, मन्दिरका लागी आवश्यक दूध, धुनी बाल्ने दाउरा लगायतका सामाग्री नदिने लगायतका दुष्प्रयास भइरहेको गुठीका पदाधिकारीको आरोप छ ।
उक्त मन्दिर सुनसरी जिल्लाको रामधुनी नगरपालिका ४ प्रकाशपुरको जङ्गलको मध्य क्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्रको रूपमा चिनिन्छ ।
भगवान् रामचन्द्र वनवास गएका बेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एक रात बास बस्दा जलाएको अखण्ड धुनी अहिलेसम्म जलिरहेको जनविश्वास छ ।