विराटनगर । विराटनगरमा रहेको श्री सहिद आधारभूत विद्यालयले ३५ औ वार्षिक उत्सव मनाएको छ । ३५ औ वार्षिकोत्सव एवम् अभिभावक भेलाको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको हो ।  २०४५ सालमा स्थापना भएको विद्यालयले स्थानीय विद्यार्थीलाई लक्षित गरी अभियानहरू सञ्चालन गर्दै आएको विद्यालयकी प्रधानाध्यापक गीता सापकोटा धमलाले आफ्नो वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिन् ।  क्यान्सरसँग जुध्दै विद्यालयलाई सुधार गर्नको लागि आफू लाग्दै आएको  उनले  सहभागीलाई जानकारी गराइन् ।  
428053568_418167984103121_6704068217735119412_n
सोही अवसरमा विद्यालयलाई नगद तथा जिन्सी सहयोग गर्ने ३० जना दाता संस्था तथा व्यक्तिलाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । विद्यालयमा योगदान गर्दै आएका शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।  शिक्षकहरू गोमाकुमारी खरेल तथा राधा अधिकारी देउजा र कर्मचारीमा सुशीला लुइँटेललाई सम्मान गरिएको विद्यालयले जनाएको छ। 
स–साना बाबु नानी पढ्ने विद्यालयमा उनीहरूले मनोरञ्जन प्रदान गरे । सांस्कृतिक कार्यक्रम, खेलकुद लगायतका गतिविधिमा सहभागी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ। वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताहरूमा उत्कृष्ट भएका विद्यार्थीलाई   मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
427997429_364664719814825_5926655155359453484_n
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वासुबहादुर बस्नेतले विद्यालयलाई  सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले अहिले पनि विद्यालयको सुधारकालागि  सहयोग हुँदै आएको भए पनि आगामी दिनमा समेत सहयोगलाई थप गरिने नीति वडाले लिने उल्लेख गरे । विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्णप्रसाद भट्टराईले शिक्षा सुधारकोलागि  तल्लो कक्षा देखि नै अभियान चलाउनु पर्नेमा जोड दिए ।  माथिल्लो कक्षामा गएर मात्र गुणस्तर खोज्न नहुने भन्दै उनले तल्लो कक्षाबाट नै बालबालिकाको क्षमताको मापन गरी उनीहरूलाई त्यही अनुसार अघि बढ्ने उत्प्रेरित गर्न  अभिभावक र शिक्षकहरू लाग्नु पर्ने बताए ।  निजी विद्यालयहरूको बिचमा पनि साना कक्षाका बालबालिकालाई अहिलेको अवस्थामा टिकाई राख्नु नै चुनौती भएको उनको भनाई थियो ।
सहिद आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षक तेजकुमारी घिमिरेले  गरेकी थिइन् । विद्यालयमा १३९ जना विद्यार्थी अध्ययन गर्दै आएकोमा सरस्वती पूजाबाट विद्यालयमा १८ जना विद्यार्थी थपिएको विद्यालयकी प्रधानाध्यापक सापकोटाले बताइन्  ।