सुनसरी । कोसी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई सम्मान गरिएको छ । 

प्रदेश खबरको वार्षिकोत्सवमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित भएका हुन । 

प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी), कृष्ण विनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिवबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा), कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई सम्मानसमेत गरियो । उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिमध्ये सुब्बा २०२९ सालदेखि पत्रकारिता पेसामा आबद्ध छन् । लम्साल ३० को दशकदेखि नै पत्रकारिता पेसामा आबद्ध रहेका छन् ।

उनको नेतृत्वमा तत्कालीन पत्रकार संघलाई २०५३ सालमा सुनसरीबाट पत्रकार महासंघ बनाइएको थियो । यसै गरी बराल चार दशकयता पत्रकारितामा आबद्ध छन् ।

कार्की २०२० को दशकदेखि पत्रकारितामा आबद्ध छन् भने आचार्य २०३२ सालदेखि पत्रकारिता पेसामा आबद्ध छन् । यसै गरी चेम्जोङ पञ्चायती व्यवस्थाको विरुद्धमा कलम चलाउँदै आएका छन् । राई ०४३ सालदेखि पत्रकारितामा सक्रिय छन् ।

यसै गरी उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन् । उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो ।

पुरस्कृतहरू वन्त लामो समयदेखि राष्ट्रिय समाचार समितिमा आबद्ध छन् भने राष्ट्रिय फोटो पत्रकारिता समूहका अध्यक्ष छन् । उनी डेढ दशकयता फोटो पत्रकारिता गर्दै आएका छन् ।

यसै गरी बुढाथोकी अन्नपूर्ण पोस्टसँग आबद्ध छन् । विराटनगरमा बसेर आपराधिक क्षेत्रलाई बिट बनाएर पत्रकारिता गर्दै आएका बुढाथोकी करिब दुई दशकदेखि पत्रकारिता पेसामा आबद्ध छन् ।

यसै गरी भण्डारी करिब डेढ दशक र खतिवडा करिब एक दशकदेखि पत्रकारितामा आबद्ध छन् । दुवै जना प्रदेश खबरसँग आबद्ध छन् । यसै गरी रेग्मी करिब एक दशकदेखि पत्रकारिता पेशामा आबद्ध छन् । उनी हिमाल प्रेस र राजधानी दैनिकमा आबद्ध छन् ।

यस्तै, पर्यटनको क्षेत्रमा योगदान पु¥याएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो । यसै गरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको थियो ।