विराटनगर  । उदयपुरको त्रियुगा नगरपालिकामा सिँचाईकोलागि कुलो निर्माण सुरु भएको छ। कोशी प्रदेश सभा उदयपुरको त्रियुगा नगरपालिकाका वडालाई लक्षित गरी झन्डै एक करोडको लागतमा कुलोको शिलान्यास गरिएको हो ।  सिचाई कुलो योजनाको  आइतबार कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले शिलान्यास गरिन्  ।
योजना शिलान्यास गर्दै उपसभामुख दनुवारले जनतालाई आर्थिक रूपले आत्मनिर्भर बनाउन सिचाई योजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्  ।  सिचाइको अभावको कारण किसानले समस्या झेल्दै आएको अवस्थामा दनुवारको पहलमा आयोजनाको सुरु भएको हो । उनले सिचाइलाई व्यवस्थित बनाउन सके मात्र कृषि क्रान्ति सम्भव हुने बताइन्  ।  ‘सिचाई अभावको कारण उत्पादन वृद्धि हुन नसक्दा युवाहरू बिदेसिनु परेको तितो यर्थाथ हामी सामु छ, उपसभामुख दनुवारले भनिन्, सिचाई अभावकै कारण किसानले कृषि कर्म गर्न छाडेर बेरोजगार तथा वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता  छ ।’  त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले विकासमा सबै मिलेर लाग्नु पर्नेमा जोड दिइन् । विकासको विरोध गर्नु नहुनेमा उनको जोड थियो ।  ‘कुलो कहाँबाट लग्ने भन्दा पनि सिचाई  गर्न सबैले पाउने मुख्य कुरा हो, उनले भनिन्, एक पटक बनेको कुलोले पुस्ता बित्ने भएकाले पारदर्शी ढङ्गले मजवुद बनाउन सबै मिलेर लाग्नुपर्छ ।’  उनले सिचाई कुलो निर्माणले कृषि उत्पादन, अर्थतन्त्र र जनतालाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने भएकाले समयमा नै निर्माण सम्पन्न गरी लाभ लिन आग्रह गरिन् । 

खेतीयोग्य जमिन भएर पनि सिचाईको अभाव झेल्दै आएका त्रियुगा नगरपालिका वडा नं ६,७,८ र ९ लाई लक्षित गरी ९७ लाख ९८ हजार २९३ रुपैयाँको लागतमा देउराली गुम्बा सिचाई योजनाको शिलान्यास गरिएको हो ।  शिलान्यास सँगै योजनाको काम सुरु भएको छ । सङ्घ, प्रदेश, स्थानीय सरकारको ६० प्रतिशत, स्विस सरकारको तीस र उपभोक्ताको दश प्रतिशत लगानीमा ६७५ मिटर लम्बाइको सिचाई कुलो निर्माण हुनेछ ।