सुनसरी - भारतीय सिमा सुरक्षा बल एसएसबीका कारण सीमा क्षेत्रका नेपालीले दुःख पाउने क्रम अझै नरोकिएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् । एसएसबीले नाकामा नेपालीलाई पटक पटक कुटपिट गर्ने र लुट्ने गरेको भन्दै भारतसंग सीमा जोडिएको सुनसरीका स्थानीयले नेपालीमाथी पटक पटक एसएसबीबाट दुव्र्यवहार हुनेक्रम नरोकिएको बताए । 

    जिल्ला सुरक्षा समितीले सुनसरीमा सुरु गरेकोे सीमा पैदल यात्रा तथा अन्र्तक्रिय कार्यक्रममा भारतीय ज्यादती रोक्न केन्द्रियस्तरबाटै पहल गर्न पनि स्थानीयले माग गरेका हुन् । दुईदेशको सीमा नाका खुल्ला भएका कारण नेपाली रोजगार र किनमेलका लागि नाकामा पुग्ने गरेका छन् । तर नाकामा भारतीय सुरक्षा बल एसएसबीले दुव्र्यवहार गर्ने क्रम नरोकिएको स्थानीय कासिम मियाले बताए । केहीदिनअघि पनि एसएसबीले नेपाल प्रवेश गरेर परिवारका सदस्यहरुमाथी कुटपिट गरेको उनले जानकारी दिए । 

      अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, नेपाल-भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाध रूपमा घरटहरा बनाउने गरेको हरिनगरका अताउल अन्सारीले बताए । भारतीय पक्षले दशगजा क्षेत्रमा अनाधिकृतरुपमा निर्माण गरेको संरचनाका कारण मलमुत्र समेत नेपाल तर्फको ढलमा मिसाइदिने गरेको बताए । यसले गर्दा दुर्गन्ध फैलिएर प्रकोपको समेत महामारी हुने जोखिम रहेको उनको भनाई छ । 

IMG_3303 2

        स्थनीय महम्मद सहवाज आलमले एसएसबीको दुब्र्यवहार र ज्यादतीले घरै छोड्नुपर्ने अवस्था सिर्जना हुने गरेको बताए । सिमा क्षेत्रमा बिगतदेखीनै यताको मान्छेको खेती उता र उताको मान्छेको खेती यता हुने गरेको अवस्थामा भारतीय पक्षबाट कृषी कार्यमा पनि अवरोध हुने गरेको उनले बताए । 

       कार्यक्रममा स्थानीयको गुनासो सुनिसकेपछी शसस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख डिआइजी अञ्जनी कुमार पोखरेलले सीमा समस्या र बिवाद नसुल्झिँदा स्थानीय नेपालीले भौतिक र मानसिक दुवै हिसाबले तनाव खेप्नुपरेको स्विकार्दै यसका लागि माथिल्लो निकायबाटै पहल हुनपर्ने बताए । शसस्त्र प्रहरीले सिमित श्रोत र साधनका बाबजुद सुरक्षा प्रदान गरिरहेकाले यसका स्थानीयको पनि उत्तिकै साथ चाहिएको उनले बताए । कतिपय घटना तल्लो स्तरबाटै आफुकहा आइनपुग्ने भएकाले निराकरणको लागि समय लाग्ने गरेको उनको भनाई छ । दुई देशका सुरक्षा अधिकारीबिच हुने नियमित बैठकमा स्थानीयको समस्या राखेर समाधान निकाल्ने पोखरेलले आश्वासन दिए । 

         पांचदिनसम्म चल्ने सिमा पैदल यात्रा तथा अन्तक्रियामा प्राप्त सुझावलाई कार्यन्वयनका लागि पहल गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । सीमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न भारतसंग सीमा जोडिएको सुनसरीको ६३ किलोमिटर क्षेत्रमा हुने चोरी तस्करी र अपराधिक गतिबिधि रोक्न यो कार्यक्रमले सहयोग पुग्ने आचार्यको भनाई छ । यसका साथै सुनसरी प्रशासनले सिमाक्षेत्रको नियमित अनुगमन, समन्वयत्मक छलफल र प्रचारप्रसार लगायतका कार्यक्रमलाई समेत तिब्रता दिएको आचार्यले जानकारी दिए ।