इटहरी  ।  कोशी प्रदेशमै पहिलो पटक प्रदेश सरकार र इटहरी उप महानगरको साझेदारीमा इलेकट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको छ  । इटहरी उप महानगरको ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानीमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरिको सम्झौता भएको छ । इटहरी उप महानगरपालिका अन्तरगत  बुढी जमुना मुक्त घाटमा  विद्युतीय दाहसंस्कार स्थल निर्माणका लागि सम्झौता भएको इटहरी उप महानगरपालिकाले जनाएको छ । 


कोशी प्रदेशका वन,पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको बुढी जमुना मुक्ति घाट इटहरीको किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा लागत साझेदारीको सम्झौता भएको हो । 

दाहसंस्कारका लागि दाउरा खरिद गर्न विपन्न तथा गरिबहरूलाई महँगो पर्ने र समय पनि धेरै लाग्ने भए पछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लास जलिसक्नेछ ।

३ करोड ५० लाखको लागतमा इलेकट्रोनिक दाहसस्कारस्थल बन्ने छ।  कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने लागत समझदारी भएको मन्त्री गणेश उप्रेतीले बताए ।

उनले प्रदेशमै पहिलो पटक इलेकट्रोनिक शव दाहसंस्कार स्थल बनाउन आफूले पहल गरेको बताए । पहल स्वरूप सम्झौता पनि भएको र यसै आर्थिक वर्षमा काम सम्पन्न हुने जानकारी दिए । 

उनले विद्युतिय शवदाह निर्माण सुरु गर्ने गरी दुवै सरकारको संयन्त्र सम्मीलित प्राविधिक समिति समेत गठन गरिएको बताए ।