इटहरी  । सुनसरीको इटहरीमा आज भएको आगलागीमा परि एक जना महिलाको मृत्यु भएको छ । इटहरी स्थित बिपी चोकमा रहेको विष्णु खड्काको घरमा मध्य राती भएको आगोलागिमा परि ५२ बर्सिया गोपीमाया कट्टुवालको मृत्यु भएको हो । कट्टुवाल छोरा बुहारीसँग डेरामा बस्दै आएकी थिइन । छोरा बुहारीसँग बस्दै आएकी कट्टुवालले आफैले आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । कट्टुवालका छोराबुहारी सुतेको कोठामा भने ताला लगाइएको छ । छोरा बुहारी सुतेको कोठामा ताला लगाएर कट्टुवालले कोठामा आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले घटनाको अनुसन्धान भइरहेको बताए । उनले  छोराबुहारी सुत्ने कोठामा ताला लगाएको र मृतक महिलाको कोठामा आगो लगाएको देखिएको बताए । 

सोही घरको माथिल्लो तलामा भने इटहरी उप महानगरका पूर्व उप मेयर तथा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम बस्दै आएकी छन् । उनले मध्य रातमा घरमा आगो लागेको बताइन् । आगोलागिबाट कट्टुवाल सुतेको कोठामा मात्रै क्षति भएको बताइन् ।